पोखरा,२५ भदौ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले वर्तमान सकारले दुई तिहाईको आडमा अदालत र अख्तियार अनि संवैधानिक निकायलाई तर्साएर लुट मच्चाइएको आरोप लगाएका छन् ।
उनले अदालत र अख्तियार सत्ताको लाचार छायाँ भएको जिकिर पनि गरे ।
‘आज अदालत के गर्दैछ ? आज अख्तियार के गदैछ ? अख्तियार झिंगा मार्दैछ, ठूला माखा चैन गर्ने,निर्धालाई ऐन, तलतलका कर्मचारीलाई समातेर, मुखिया खरदारलाई समातेर काम देखाउने ?’उनले भने,‘ उसले ठूलालाई गर्न ( कारवाही ) गर्न सक्दैन ,शासकलाई गर्न सक्दैन, चाहे त्यो वाइडबडी होस्, चाहे त्यो एनसेल होस् वा वाइसिएल क्याम्पको कुरा नै किन नहोस् !’
वरिष्ठ नेता पौडेल विपी जयन्ती तथा नेपाली कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा मंगलबार पोखरामा आयाजित वृक्षरोपण कार्यक्रममा बोल्दै थिए । अरबौको भ्रष्टाचारहरु साना मान्छेले हैन ठूला टाउकेहरुले गरेको जिकिर गर्दै उनले अरबौँ–खरबौँको भ्रष्टाचार कहाँ भयो भन्ने प्रश्न पटक–पटक दोहो¥याए ।
‘ठूला माछा समात्न अख्तियारको हात किन काप्छ भने दुई तिहाईको दुरुपयोग, दुई तिहाईको शक्ति देखाएर अख्तियार र अदालत धर्काउने ?’, उनले थपे ।
एनसेलको काण्डमा अदालतले गरेको फैसलाबारे संसदमा प्रश्न उठेको प्रसंग निकाल्दै उनले अदालतले अघिल्लो पटक गरेको फैसला र पछिल्लो फैसला बाझिएको बताए । अदालतको नजिर एउटा हुने तर्कगर्दै उनले भने,‘अदालतको फैसला बाझिएको छ, दुई तिहाईले न्यायाधीश र अदालतलाई तर्साएर लुट मच्चाइएको छ ।’
भ्रष्टाचार र अराजकता बढेकोको र सरकारले सपना एउटा देखाउने तथा काम अर्को गर्नाले जनतामा निरासा बढेको जिकिर गरे । ‘यो सरकारले सामान्य पनि काम गर्न सक्दैन । देशमा यतिबेला डेंगु फैलिएको छ, अस्पताल भरिएको छ’, उनले भने,‘ सरकारले लामखुट्टे धपाउन सकेको छैन, यो सरकारसँग काम गर्ने मेसो नै छैन, काम गर्न जानेकै छैन ।’
उनले सरकारले संविधान विपरित ऐन बनाउन खोजेको आरोप पनि लगाए । सरकारले जनताको अधिकार र सम्पत्तिको अधिकारमाथि पनि धावा बोलेको बताउँदै उनले भने,‘अहिले सरकारले बाबुको सम्पत्ति छोराले लिन पनि पैसा तिर्नुपर्ने ऐन बनाउन लागेको छ, अनि के हुन्छ हाम्रो समाजमा ? बाउको सम्पत्ति छोराले नपाउने अवस्था भए के हुन्छ ?’
पार्टीको आन्तरिक कलह र गुट–उपगुटबारे धेरै नबोले पनि उनले केही मान्छेले मनि र मसल प्रयोग गरेर पार्टीमा आफ्नो हैसियत बनाएको भए पनि कांग्रेस त्यस्ता मान्छेको मात्रै नभएको जिकिर पनि गरे । उनले सारा बेथितिको अन्त्य कांग्रेसले मात्र गर्न सक्ने बताउँदै कांग्रेसभित्र सत्तामा बस्दा पनि आफ्नो इमान नडग्मगाएका मान्छेहरु भएको दावी पनि गरे । उनले लोकतन्त्रको कुनै विकल्प नभएको र कांग्रेसलाई सिध्याउन २०३६ सालतिर गोरेबहादुर खपाङ्गीहरु जन्माएको बताउँदै उनले भने,‘ सेता मगराँती भनेर जन्माइएका उनै खपाङ्गी पछि राजाको हातबाट रातो टीका थाप्न गए ।’ अहिले पनि कांग्रेसलाई सिध्याउन विभिन्न खाले प्रपञ्च रचिएको उनको टिप्पणी थियो । कास्की क्षेत्र नम्बर २ मा हुने आसन्न उपनिर्वाचन मा उनले एक भएर कांग्रेस उम्मेदवारलाई विजय बनाउन पनि उनले आग्रह गरे ।
‘कांग्रेस भन्ने रुखमा भोट नहाल्ने, रुखमा भोट नहाल्ने पनि कांग्रेस हुन्छ ?’, उनले भने,‘ कास्की अहिले सारा नेपालको आँखामा परेको छ, यो मौका चुक्न नदिऊँ, मैले टिकट पाइन नभन्नुहोस्, कांग्रेसलाई जिताउनुस् ।’
नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रियसभाकी सदस्य विन्दा रानामगरले अबको चुनाव गर या मरको भएकाले आफ्ना उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिइन् । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले बहुमतको सरकारले प्रदेशमा बजेट विनियोजन गर्दा विभेद गरेको बताउँदै यो सरकारको अलोकप्रियताको फाइदा कांगे्रसले उठाउनुपर्नेमा जोड दिए । कांग्रेस नेता तथा केन्द्रीय प्रतिनिधि ध्र्व वाग्लेले कांगे्रसले यो बेला आत्मघातको हैन, आत्मसमीक्षा गर्नुपर्नेमा जोडदिँदै कांग्रेस नेताहरुमा पनि कहिँकतै खोट रहेकोले जनताले अझै शंकाको दृष्टिले हेरेको बताए । अर्का केन्द्रीय प्रतिनिधि हरिप्रसाद श्रेष्ठले बहुमतको सरकारलाई दण्ड दिने उपर्युक्त मौका नै यही भएकोले कांग्रेसले यो मौकाको सदुपयोग गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङ, कांग्रेस निर्वाचन क्षेत्र नम्बर २ ख का सभापति दीपेन्द्र मर्सानी, कांग्रेस नेतृ मुना बास्तोलालगायतले मन्तव्य राखेका थिए । सो अवसरमा वृक्षरोपण पनि गरिएको थियो ।





