शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुख्यमन्त्रीको पुरानो गाडीको सेतो नम्बर प्लेट एकाएक रातो

मुख्यमन्त्रीको पुरानो गाडीको सेतो नम्बर प्लेट एकाएक रातो

मुख्यमन्त्री पत्नीको प्रयोगमा


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७६, मंगलबार

पोखरा,३१ भदौ –  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २ करोड ५० लाख पर्ने ल्याण्डक्रुजर गाडी चढ्छन् । उनले यो गाडी रहर नहुँदानहुँदै पनि किन्नुपरेको बताएका थिए । संघीय सरकारबाट अपमानित भएको भन्दै गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त गाडी खरिद गरेको हो । तर, मुख्यमन्त्री हुनुपूर्व उनी हुण्डाईको टक्सन गाडी चढ्थे ।
बा २ झ १३६३ नम्बरको उक्त गाडीमा अहिले रातो प्लेट हालिएको छ । यो गाडी पहिले प्रधानमन्त्री कार्यालयले प्रदेश सरकारलाई दिएको थियो । प्रदेशले मुख्यमन्त्री कार्यालय मातहत रहने गरी उक्त गाडी नामसारी गरेपछि ग १ झ ४०७ नम्बरको सेतो प्लेट हालिएको थियो ।तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै यातायात व्यवस्था विभागलाई उक्त गाडी को नम्बर परिवर्तन गरि रातो प्लेट हाल्न पत्राचार ग¥यो ।
गएको फागुन २१ मा चलानी नं. १०५४ राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विभागलाई नम्बरप्लेट परिवर्तन गर्नको लागि पत्र लेखेको थियो । विभाग स्रोतका अनुसार मुख्यमन्त्रीको कार्यालयले दिएको पत्रअनुसार नै गाडीमा रातो प्लेट हालिएको हो । अहिले उक्त गाडीको नम्बर ग ३ च १६२ रहेको छ ।‘मुख्यमन्त्रीको कार्यालयबाट पत्र आएपछि हामीले पत्रानुसार कार्यान्वयन गरेका हौँ’, विभाग स्रोतले बतायो ।
नम्बरप्लेट फेरेपछि उक्त गाडी अहिले मुख्यमन्त्री पत्नी कुमारीमुनि गुरुङले प्रयोग गर्दै आएकी छन् । उनी लमजुङको क्होँलासोथर गाउँपालिकाका उपप्रमुख समेत हुन् । गण्डकी प्रदेश सरकारले स्थानीय तहका उपप्रमुखले पनि सवारीसाधन किन्न पाउनेगरि गत महिनामात्रै ऐन संशोधन गरेको छ । तर, उनले भने मुख्यमन्त्रीले प्रयोग गर्दै आएको गाडी प्रयोग गर्दै आएकी छन् । उक्त गाडीमा लाग्ने इन्धन समेत मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भर्दै आएको छ ।
केही दिनअघि यूकेमा भएको कार्यक्रम सकेर काठमाडौँ आएपछि सोही गाडी उनलाई लिन बुधबार नै पोखराबाट गएको थियो । कुमारीमुनीलाई लिएर उक्त गाडी सोमबार पोखरा फर्केको छ । गाडी मुख्यमन्त्रीले रातो प्लेट हुनुअघि प्रदेशका प्रमुख सचिवले प्रयोग गर्दै आएका थिए । प्रमुख सचिवको लागि नयाँ गाडी आएपछि सो गाडी प्रयोगविहीन भएको थियो ।
मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले गाडी कतै नगएको बताए । उनले भने, ‘१४१८ प्रमुख सचिवले चढ्नुभएको छ । पहिले मुख्यमन्त्रीले चढेको २९७ नम्बरको गाडी त्यहीँ छ । कहिले नेताहरु, कहिले मन्त्रीहरु आउँदा उहाँहरु चढ्नुभएको छ । उहाँहरुको लागि प्रयोग भएको छ ।’ मुख्यमन्त्री पत्नीले गाडी प्रयोग गरेकोबारे भने उनी मौन रहे । यता, क्होँलासोथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले चाहिँ गाउँपालिकाले महिन्द्राको गाडी किनेको र उपाध्यक्षले पनि प्रयोग गर्ने गरेको बताए ।
‘कहिले गाउँपालिकाको गाडी प्रयोग गर्नुहुन्छ, कहिले उताको (मुख्यमन्त्री कार्यालयको’, उनले भने ।यता, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भने यस विषयमा बोल्न खोज्दा सुरक्षाको कारण बोल्न नमिल्ने जनायो ।
‘मुख्यमन्त्रीको निजी सुरक्षाको, सुरक्षा संवेदनशीलताको कुरा हो, प्रमुख सचिवले सूचना दिन नमिल्ने भन्नुभएको छ’, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी विकास थापा मगरले जानकारी दिए ।प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले चाहिँ ‘आफूलाई थाहा नभएको बताए । सेतो प्लेट र रातो प्लेटमा दर्ता हुने गाडी फरक हुन, परिवर्तन गर्न पाईँदैन, तर मुख्यमन्त्रीले कार्यालयले पत्र लेखेर सबै प्रक्रिया पु¥याएको भए चाहिँ….. तर प्रक्रिया मलाई थाहा भएन’, उनले भने ।रातो नम्बरप्लेट हालेतापनि उक्त गाडीमा इन्धन भने मुख्यमन्त्री कार्यालयले नै भर्दै आएको छ । मुख्यमन्त्रीले मासिक २५० लिटर इन्धन पाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->