पोखरा, ६ कात्तिक – उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गरेर जान नेकपा र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच बुधबार भएको घेटभाटमा चुनावी तालमेल गर्ने सहमति भएको हो । भेटमा प्रधानमन्त्री ओलीले वामन्थी आन्दोलनलाई बलियो बनाउन वामदलहरुबीच सहकार्यको आवश्यकता औँल्याउनुभयो । नेकपाका अध्यक्षसमेत रहेका ओलीले विगतको निर्वाचनमा जुन दलले जहाँ जितेको थियो, उपनिर्वाचनमा पनि सो स्थानमा अर्को दलले सघाउने गरी तालमेल गर्नुपर्ने बताए ।
भेटघाटमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले पनि वामपन्थी दलहरुबीचको सहकार्यमा जोड दिँदै देशमा पुनः प्रतिगामी शक्तिहरु सल्बलाउन थालेकोप्रति सचेत रहन आग्रह गरे । अध्यक्ष केसीले प्रधानमन्त्री ओलीलाई आफ्नो दलले सरकारलाई दिएको समर्थन अहिले पनि कायम रहेको जानकारी दिँदै सरकारले कैयौँ आचरणमा सुधार गर्नुपर्ने सुझाव पनि दिए । भेटमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई तथा राजमोका महासचिव जनकराज शर्मा, सचिव हिमलाल पुरी र पूर्व सचिव कृष्ण अधिकारी सहभागी थिए ।
आगामी मंसिर १४ गते प्रतिनिधसभा अन्तर्गत कास्की क्षेत्र नं २, प्रदेशसभा अन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) र बागलुङ २(ख) मा उपनिर्वाचन हुनेछ । ति क्षेत्रहरुमा कास्की २ बाट निर्वाचित नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । भने दाङ ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएपछि खाली भएको हो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । त्यस्तै, बाग्लुङ २ (ख) बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको जन्डिसका कारण निधन भएको थियो । अव नेकपाले राजमोलाई बागालुङ – २ (ख) मा सहयोग गर्ने छ भने अन्य स्थानमा राजमोले नेकपालाई सहयोग गर्नेछ । यसअघि २०७४ सालको निर्वाचनमा तत्कालिन एमाले माओवादी गठबन्धनले राजमोलाई बागलुङको प्रदेशसभा सदस्यमा सघाएको थियो । प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधनपछि रिक्त स्थानमा नेकपाले आफूहरुलाई सघाउने र बाँकी सबै ठाउँमा नेकपालाई सघाउने केसीले बताए ।





