पोखरा, १४ कात्तिक – कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि कांग्रेसले १६ जना आकांक्षी उम्मेदवारको नाम केन्द्रमा पठाएको छ । १६ जनामध्ये कसलाई टिकट दिने भन्ने निर्णय आइतबार मात्रै गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कास्कीको सो निर्वाचन क्षेत्रबाट यसअघि देवराज चालिसेले चुनाव लडेका थिए । प्राध्यापन छाडेर चुनावमा होमिएका चालिसे पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । त्यसो त कास्की कांग्रेसका सभापति कृष्ण केसी पनि रामचन्द्रसँगै नजिक मानिन्छन् । आफ्नै छिमेकी जिल्ला भएकोले पनि कास्कीप्रति रामचन्द्रको बढी नै चासो छ । कलेज जीवन यहीँ बिताएका रामचन्द यो पटक पनि कास्कीबाट आफ्नै समर्थकले टिकट पाओस् भन्ने चाहन्छन् । यस मानेमा यो पटक पनि उम्मेदवारको सूचिमा परेका देवराज नै उनको रोजाई हुनसक्छ । तर, कांग्रेस स्रोत भन्छ,‘ रामचन्द सबैका हुन्, कसैका पनि होइनन्, त्यसैले उनी अन्तिम समयमा जता पनि ढल्कन सक्छन् ।’ उनको यही कमजोरी बुझेर अहिलेका सबै दावेदारहरुले रामचन्द्रको खातिरदारी गरिरहेका छन् ।
यो खातिरदारी बुधबार पनि देखियो । रामचन्द्र पौडेल बुधबार निन्तान्त पारिवारिक भ्रमण भन्दै पोखरा आए । हिमपहिरोमा परि मृत्यु भएका सञ्जय खनालको परिवारलाई समवेदना व्यक्त गर्न आएका उनी त्यसबाहेक पनि दुई ठाउँमा समवेदना व्यक्त गर्न पुगे । पस्र्याङका खनाल परिवार रामचन्द्रका आफन्त हुन् । त्यसबाहेक उनी माृतशोकमा रहेका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दीपक श्रेष्ठ र पूर्वकोषाध्यक्ष दिलिपराज श्रेष्ठको परिवारलाई समवेदना व्यक्त गर्न पुगे । श्रेष्ठको पुरानो घर लमजुङको हाँडेटार हो । यो गोविन्दराज जोशीको घर नजिकै पर्छ । त्यसैगरि रामचन्द्र मातृशोकमा रहेका डाक्टर वसन्त ताम्राकारकहाँ पनि पुगे । सबै ठाउँमा जाँदा उनीसँग उम्मेदवारका आकांक्षी र शुभेच्छुकहरु थिए । रामचन्द्रलाई सबै ठाउँमा कास्की सभापति कृष्ण केसीले पु¥याएका थिए ।
आफू निकट पार्टी सभापतिसँग गाडीमा रहँदा उनले कास्कीको आसन्न चुनाव र उम्मेदवारबारे गोप्य मन्त्रणा गरेको अड्कलबाजी गरिएको छ । केन्द्रमा १६ जना आकांक्षीको नाम गएको र पार्टी सभापति शेरबहादुर देउवाले जित्ने उम्मेदवारलाई मात्रै टिकट दिने घोषणा गरिएको सन्दर्भमा उनले आफू पक्षीय उम्मेदवारको अवस्थाबारे चासो लिएको स्रोतले बतायो । कास्की कांग्रेसका सभापति कृष्ण केसीले चाहिँ शोक व्यक्त गर्न आएकाले वरिष्ठ नेतासँग चुनावी कुरा नभएको जिकिर गरे । ‘खासमा चुनावको कुरै भएन,उहाँसँग सामान्य कुरा भयो’, उनले भने । कांग्रेसको अवस्थाबारे त सोध्नुभयो होला नि ? भन्ने नेपालखवरको टेलिफोने प्रश्नमा उनले हाँस्दै भने,‘ मैले त जो उम्मेदवार भए पनि हामीले जित्छौँ भनेको छु ।’
बिहान साढे १० बजे पोखरा आएका उनले पोखरा एयरपोर्ट अगाडि गएर खाना खाए । खाना खाने ठाउँमा रामचन्द्रसँग चुनावका सबै आकांक्षी थिए ।देवराज चालिसेदेखि ऋषि काफ्लेसम्मका नेता भएको ठाउँमा रामचन्द्रले चुनावको कुरा गरेनन् । तर, स्रोतका अनुसार कास्कीमा आफ्नो उम्मेदवार उठाउने भित्री चाहनामा शेरबहादुरको आँखा पर्छ कि भन्नेमा उनी सचेत चाहिँ छन् । उनी आफैले पोखरा आउँदा देउवा वा रामचन्द्र कांग्रेस नभन्न र एक भएर चुनावमा जान कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । अझ एक कार्यक्रममा त उनले देउवा नजिक तर अवसर नपाएका खेमराज पौडेललाई देखाउँदै ‘उहाँहरुको त्यागको पार्टीले मूल्याङ्कन गर्नुपर्ने’ भन्दै पुराना नेताहरुको सहानुभूति बटुल्ले प्रयास समेत गरेका थिए । संयोग, यो पटक टिकटको दावेदारीमा उनै खेमराजको पनि नाम छ । खेमराजलाई रामचन्द्रले राम्रैसँग चिन्छन् । त्यतिमात्रै नभएर, १६ जनाको नाम केन्द्रमा जाँदा देउवाले आफू निकट खेमराजलाई टिकट दिए भने रामचन्द्रले विरोध गर्न नसक्ने अवस्था समेत रहेको कांग्रेसीहरुको अनुमान छ । ‘त्यसैले बाहिर शान्त देखिए पनि रामचन्द्रमा भित्रभित्रै कास्कीमा आफ्नो उम्मेदवार उठाउने रणनीति छ’, स्रोतले भन्यो,‘कथंकदाचित अर्को अनुहार आए पनि उनी आफूप्रति सफ्टकर्नर राख्ने व्यक्ति नै यहाँ उम्मेदवार बनोस् भन्ने चाहन्छन्, हिजोको यात्रा पनि यही सन्दर्भमा भएको हो ।’ कास्की क्षेत्र नम्बर २ तत्कालीन एमालेकोतर्फबाट रवीन्द्र अधिकारीले जितेको क्षेत्र हो ।





