काठमाडौँ, १६ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे छलफल भएको, केहीमा सहमती जुट्न बाँकी रहेकाले आइतबार बैठक बसेर उम्मेदवारको अन्तिम टु्ंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच छलफल भएको र आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ ।
३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आउन एक महिना पनि समय बाँकी नहुँदा प्रमुख दलहरुले भने उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरेका छन् । उम्मेदवारीकै विषयमा छलफल गर्न काँग्रेसले पनि आइतबार नै पदाधिकारी बैठक बोलाएको छ ।
यसैबीच नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । बैठकमा उनले आफ्नो स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना नभएको बताएका थिए । मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिए । मिर्गौलाले राम्रोसँग काम नगरेको र फोक्सोमा पानी जम्मा भएकाले ग्राण्डी अस्पतालमा गएर दुई पटक डायलासिस गराएको उनले जानकारी दिए ।
‘स्वास्थ्यमा केही समस्या देखा परेका कारण चिकित्सकले परीक्षण गरिरहनु भएको छ । केही रिपोर्ट आइसकेको र केही आउन बाँकी छ’ बैठकमा ओलीले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ । सबै रिपोर्ट आएपछि प्रधानमन्त्रीको उपचारबारे थप निर्णय लिइने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।





