पोखरा, १८ कात्तिक – बेजिल्ले उम्मेदवार पठाए त्यसको जिम्मा केन्द्रले नै लिनुपर्ने चेतावनी कास्की कांग्रेसले दिएको छ । उम्मेदवार टुंग्याउन कांग्रेस केन्द्रिय समितिको बैठक बसिरहेको बेला कास्की कांग्रेस सभापति कृष्ण केसीले कडा चेतावनी दिएका हुन् ।
आउँदो बिहिबार उम्मेदवार मनोनयन दर्ता कार्यक्रम छ । तर, कांग्रेसले हालसम्म उम्मेदवार टुंग्याएको छैन् । कास्की कांग्रेसबाट १६ जना आकांक्षीको नाम केन्द्रमा गएको छ ।
तर, केन्द्रमा पठाईएका नामावली भन्दा बाहिरका उम्मेदवारले कास्कीको उपनिर्वाचन लड्ने चर्चा चलेका बेला कास्की कांग्रेस सभापति केसीले कडा चेतावनी दिएका हुन् ।
कांग्रेसको पदाधिकारी भागबण्डा अनुसार उपनिर्वाचन हुने कास्की क्षेत्र वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा परेको छ । स्वयम् सभापति केसी पनि पौडेल निकट छन् । उम्मेदवारका बलिया दाबेदार देवराज चालिसे पनि पौडेलकै नजिक छन् । तर, वरिष्ठ नेता पौडेलले भने स्याङजाका धनराज गुरुङलाई काखी च्यापेको चर्चा बढि छ ।
सोही चर्चामाझ बेजिल्ले उम्मेदवार आए, परिणाम पनि गतिलो नआउने र संगठन पनि ध्वस्त हुने भन्दै बाह्य उम्मेदवारको जिम्मेवार केन्द्रले नै लिनुपर्ने जिल्लाले लिन नसक्ने तर्क सभापति केसीले गरेका छन् ।
“मेरो केन्द्रसँग पनि अनुरोध हो, भूगोललाई १, २, ३ भनेर विभाजन गरिएको छ । भूगोल छुट्याउनुको पनि कारण छ । सबै साथीहरुले, नेता, कार्यकर्ताले, आफ्नो भूगोल भित्र राजनीति, संगठन काम गरेका छन् । अनि उनीहरुले आफ्नो राजनीतिक भविष्य त्यही भूगोलभित्र खोजेका छन् । यहाँ यति काम गरेँ भने, योगदान गरेँ भने, यसरी निरन्तर लागेँ भने एकपटक अवसर पाउँछु भनेर संगठन, जनताका काममा लागेका हुन्छन् ।” उनले भने, “उम्मेदवार जहाँको पनि हुन पाईन्छ, हुन नपाईने होईन, तर अहिले हामीले सबै कुरा मिचेर, त्यो क्षेत्र, भूगोल, भेगमा काम गरेका संगठनमा लागेका पार्टीको जिल्ला, क्षेत्र छ । आकांक्षी छन्, पुराना नेताहरु छन् । कसैँसग पनि सल्लाह नगरी केन्द्रले हामीले निर्णय गरेपछि यो निर्णय जिल्लाले मान्नुपर्छ भन्ने हो भने यसरी पार्टीको संगठन चलाउन सकिँदैन, संगठन पनि हुँदैन, क्रियाशील पनि हुँदैनन् । स्थानीय तहमा रहेर कसले काम गर्छ ?”
निश्चित भूगोलभित्र राजनीति, संगठन र जनताका काम गरिरहेका उम्मेदवारहरुको मनोबल गिर्ने हुँदा बाह्य उम्मेदवारको निर्णय नगर्न उनले केन्द्रसँग अनुरोध पनि गरेका छन् ।
“म जिल्ला सभापति, दाबी त मैले पनि त गर्न सक्थेँ नि त । मेरो क्षेत्र नभएको कारणले, म एक नम्बर क्षेत्रको मान्छे, मतदाता नामावली, महाधिवेशन प्रतिनिधी त्यहीँ छ । मेरो दाबा १ नम्बर क्षेत्रमा नै रहन्छ । मेरो धेरै समय र योगदान एक नम्बरमा नै छ । त्यस्तै मैले भन्न खोजेको, सबै साथीहरु आ–आफ्नो क्षेत्रमा, राजनीतिक संगठन काम गरेका छन् । ती साथीले त्यही ठाउँमा चुनाव लडे हुन्छ, संगठनमा आए त्यहीँबाट आए हुन्छ ।” उनले भने ।
केन्द्रले नै जबर्जस्ती निर्णय गर्दा जिल्लाले उक्त निर्णयमाथि नै प्रश्न उठाउने अवस्था सिर्जना नगर्न उनले आग्रह गरेका छन् ।
“कोही कसैको सरसल्लाह नभईकिन जिल्लाभन्दा बाहिरबाट उम्मेदवार आउने अवस्था रह्यो भने, परिणाम, संगठन, मनोबल सबै कुरालाई प्रभाव पार्ने हुँदा बाहिर जिल्लाबाट नपठाईयोस, यदि पठाईयो भने कास्की कांग्रेसले केन्द्रमा गम्भीर रुपले फेरि प्रतिप्रश्न गर्नुपर्ने अवस्था आउँछ ।” उनले थपे, “मलाई आशा छ, त्यो खालको निर्णय केन्द्रमा हुँदैन, मैले केन्द्रिय सभापति, पदाधिकारी, वरिष्ठ नेतालाई पनि भनेको छु । तर, भन्दाभन्दै पनि केन्द्रले उहाँहरुले हामीले निर्णय गरेर पठाईसकेपछि जिल्लाले नमानेर हुन्छ र भन्ने हो भने त्यसको जिम्मेवार केन्द्रले नै लिनुपर्छ ।”
नेता धनराज गुरुङले पार्टीले चाहे आफू कास्की–२ मा आउन तयार रहेको यसअघि नै सार्वजनिक गरेका थिए । अघिल्लो चुनावमा अवसर नपाएपछि एकाथरी उनको पक्षमा देखिएका छन् भने अर्काथरी चालिसे पराजीत भएकोले ५ बर्षका लागि उनैले अवसर पाउनुपर्ने बताउँछन् ।





