पोखरा, २० कात्तिक – नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । खेमराजले पार्टी सभापति शेरबहादुर देउवाले टिकट दिएका हुन् । टिकट लिएपछि उत्साहित बनेका खेमराज पोखरा फर्कदैँ छन् । उनले आफूले टिकट पाएपछि सबै कांग्रेसीहरु उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
अन्तिमसम्म उनीसँग टिकटको लागि युवा नेता देवराज चालिसे प्रतिप्पर्धामा थिए । देवराजले पनि आफूलाई खुसीसाथ शुभकामना दिएको बताउँदै खेमराजले भने,‘मलाई कास्कीका पुराना नेता तारानाथ रानाभाट, शुक्रराज शर्मा, महादेव गुरुङलगायत सबैको साथ र समर्थन छ, अब चुनाव जित्नु नै मेरो एजेण्डा हो । नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ को लागि १६ जना आकांक्षीको नाम केन्द्रमा पठाएको थियो । कुनै समय शिक्षक पनि रहेका खेमराजसँग जेलनेल भोगेकोदेखि कांग्रेसबाटै पाखा पारिएकोसम्मको अनुभव रहेको छ । पोखरा–२२, पुम्दीभुम्दी निवासी उनी निष्ठावान नेताको रुपमा चिनिन्छन् ।





