पोखरा,२९ कात्तिक – के मोदीको भ्रमणले भारतीय पर्यटक बढेजस्तै बंगलादेशी राष्ट्रपतिको भ्रमणले पर्यटक कत्तिको बढाउँछ त ?
मोदी भ्रमणमा उनका सबै गतिविधीहरुको अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार भएको थियो । उसैपनि ठुलो अर्थतन्त्र भएको शक्तिशाली देशका प्रधानमन्त्रीको गतिविधी विश्वलाई नै चासो हुनु स्वभाविक नै हो ।
बिहिबार पोखरामा फेरि एउटा भिभिआइपी भ्रमण भयो । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आए । चालिस मिनेट फेवातालमा बिताए, यहीँकै होटेलमा लञ्च गरे र रुपाकोटमा हिमाल अवलोकन गर्न गए ।
पछिल्लोपटकको यस भिभिआइपी भ्रमणबाट यहाँका पर्यटन व्यवसायीहरु उत्साहित छन भने पर्यटनलाई प्राथमिकतामा राखेको गण्डकी प्रदेश सरकार पनि खुशी छ ।
उसो त, नेपाल सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यो भन्दा पहिले गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ समापनको संघारमा छ । गण्डकी मात्र नभएर देशकै पर्यटकीय नगरी पोखरा र विशेषतः लेकसाइड क्षेत्र यतिबेला गुणस्तरीय पर्यटकको अभाव खेपिरहेको छ ।
गतसाल वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरा हुँदै मुक्तिनाथसम्मको भ्रमण गरे । त्यसको प्रभावस्वरुप मुक्तिनाथमा भारतीय पर्यटकको संख्या ह्वात्तै बढ्यो । अहिले पनि नेपाल आउने भारतीय पर्यटकहरुको संख्या उल्लेखनीय नै छ ।
मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ दर्शन गर्न आउने भारतीयको संख्या बढ्दै गर्दा पोखराको पर्यटनलाई भने उल्लेखनीय रुपमा प्रभाव पार्न सकेन । भारतीयहरु बढिमात्रामा सडकरुट बाट पोखरा हुँदै मुक्तिनाथ जान्छन्, तर, उनीहरुको खर्च गर्ने क्षमता भने कमजोर छ ।
प्रमुख पर्यटकीय नगरी पोखरा पछिल्लो समय यही समस्याबाट गुज्रिएको छ । ‘पर्यटक पनि आएका छन्, तर खर्च गर्दैनन, एकदमै थोरै खर्च सीमा बनाएर आउने पर्यटकबाट यहाँको अर्थतन्त्र बढ्न सकेको छैन्,’ एक व्यवसायीले यो समस्या सुनाउँदै भने, ‘बंगलादेशी पर्यटकहरु खर्च गर्न डराउँदैन्न् ।’
उनले समस्यासँगै आशा र सम्भावना पनि सुनाए ।
राष्ट्रपतिको यस भ्रमणलाई पनि प्रचारप्रसार गर्न सके पर्यटन व्यवसायीले भनेझैँ बंगलादेशका गुणस्तरीय पर्यटक आउने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले बताए ।
उनका अनुसार, श्रीलकंन र भारतीय पर्यटकको तुलनामा बंगलादेशी पर्यटकको क्रयशक्ति बढि छ ।
नेपालमा सार्क राष्ट्रबाट बढिमात्रामा पर्यटक आउने गर्दछन् । ती मध्ये श्रीलंकन पर्यटकको आकर्षण लुम्बिनीमा बढि छ । लुम्बिनीमा श्रीलंकन सरकारकै होटेल पनि छ । त्यसकारण त्यहाँ आउने श्रीलंकन पर्यटकबाट देशलाई त्यति फाइदा भने पुगेको छैन् ।
“राष्ट्रपतिको भ्रमण र उहाँका गतिविधीहरुको बारेमा मिडियाले कभरेज गर्दाबित्तिकै यहाँको स्थान परिचय हुन्छ र पर्यटक पनि बढ्छन् । बंगलादेशमा त पर्छ, पर्छ । प्रचारप्रसार पनि स्वतः हुने नै भयो । बंगलादेशबाट पनि पर्यटक आउनेछन्, बंगलादेशको ठुलो नै मार्केट नभएतापनि राष्ट्रपतिको भ्रमणलाई एकदमै सकारात्मक रुपमा लिनुपर्छ ।” उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले भिभिआइपीहरुले पोखरामा थोरै समय बिताउनुभन्दा पनि उनीहरुको भ्रमण अवधि बढाउनुपर्ने बताउँछन् ।
अर्कोतर्फ दोश्रो सहर भएर आउनुभन्दा पनि पोखरामा नै सिधै ईन्ट्रि गर्न सके त्यसको प्रभाव बढि हुने उनको भनाई छ । “पोखराको विश्वका अरु सहरहरुको अन्तर्राष्ट्रिय सहरहरुसँगको प्रत्यक्ष उडानबाट सम्पर्क राख्ने स्थिती सिर्जना गर्नुपर्ने हो यसलाई गम्भीरताका साथ हेरिनुपर्छ, अहिले निर्माणाधीन विमानस्थलले आंशिकरुपमा मात्रै सम्भव छ ।” उनले भने, “बंगलादेशका राष्ट्रपति आउनुभयो ढाकासम्मको उडान सम्भवतः हामीले गर्न सकौँला तर लामो दुरीका उडान भने यहाँबाट सम्भव छैन् । सेलिबे्रटीहरु घुम्न जाँदा व्यापक रुपमा प्रचार गर्नुपर्ने स्थिती सिर्जना गर्नुपर्ने चुनौती पनि छ ।”
भिभिआइपी भ्रमणले भन्दा पनि उनले आफ्नो मुलुक फर्केर दिने अभिव्यक्तिको प्रभाव बढि हुने हुँदा भ्रमण आउनेहरुलाई मन छुने खालको, अनुभव गर्ने खालको स्थिती सिर्जना गर्नुपर्ने उनी बताउँछन् ।
“सेलिब्रेटी आउनुभयो भनेर बस्नुभन्दा पनि उहाँले आफ्नो मुलुकमा दिने अभिव्यक्तिले यो ठाउँबारेमा कत्तिको सूचनाहरु प्रवाह गर्न सक्नुहुन्छ भन्ने कुरामा धेरै निर्भर रहन्छ । एक्लै हेर्नुभन्दा पनि नागरिकलाई आफूले फिल गरेका कुराहरु दिन सक्यो भने मात्रै प्रवद्र्धनको कडि जोड्न सक्छौँ ।” मुल्मीले भने ।
नेपाल पर्यटन बोर्डका सदस्य तथा व्यवसायी विप्लव पौडेलले बंगलादेश अपकमिङ मार्केट बन्न सक्ने सम्भावना रहेको बताए । “भिजिट नेपालको प्रवद्र्धन साथसाथै पर्यटनमा सुधार आउने नै छ, बंगलादेश एकदमै पोटेन्सियल छ, सडक र हवाई दुवै रुटबाट आउन सकिन्छ, हामीले योजना बनाउँदा बनाउँदै उहाँको भ्रमण भयो, अब हामीलाई बंगलादेशमा पर्यटन प्रवद्र्धन गर्न सहज हुन्छ ।” उनले भने ।
तर, मुख्य पर्यटकीय क्ष्ोत्रमा नै पर्यटनका गतिविधी कम हुँदा यसले कस्तो असर गर्छ त ? भन्ने प्रश्नमा उनले भने, “यहाँ पर्यटक कम आउनुभन्दा पनि होटेलहरुको संख्या बढेका छन्, हवाई रुटमा पनि डिलेको समस्या छ भने सडक पनि त्यति व्यवस्थित छैनन् ।”





