पोखरा,२ मंसिर – कास्कीमा अबको ठीक दुई हप्तामा कास्कीमा प्रतिनिधिसभा सदस्यको लागि उपनिर्वाचन हँुदैछ । त्यस्को भोलिपल्ट पोखरामा दक्षिण एशियाली खेलकुद प्रतियोगिता ( साग ) समेत हुँदैछ । नेपालमा हुने सागका खेलमध्ये ९ खेल पोखरामा हुनेगरि खेल तालिका समेत सार्वजनिक भएको छ ।यी दुबै ठूला कार्यक्रमहरु हुन् ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हुन लागेको उपनिर्वाचन यतिखेर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको विषय बनेको छ । नेकपा र नेपाली कांग्रेसका उमेद्वारबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । निवार्चनमा नेकपाले विद्या भट्टराई र काँग्रेसले खेमराज पौडेललाई अघि सारेको छ । विद्या तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । विद्या अखिलको राजनीतिक पृष्ठभूमिबाट ओझल पर्दै प्राध्यापन पेशामा रहँदै गर्दा एक्कासी टिकट लिएर जनतासामु आएकी हुन् ।नेकपाले विद्यालाईरवीन्द्रको उत्तराधिकारीका रुपमा अघि सार्दै सहानुभूतिको भोटबाट आफ्नो साख जोगाउने रणनीति बनाएको देखिन्छ । खेमराज नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन् । खेमराज शिक्षण पेशा र राजनीतिक यात्रालाई निरन्तरता दिँदै चिनी कारखानाको अध्यक्ष र सुकुम्बासी आयोगको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । वीपी, गणेशमान, किसनुजीसँग निकट भई सादगी सदाचारी नेता खेमराजलाई अघि सार्दै जनताको विश्वास जित्ने दाउमा छ ।
अर्कातिर राष्ट्रको गौरवसँग जोडिएको १३ औँ साग १५ गतेबाट पोखरामा सुरु हुँदैछ । निर्वाचनको बेला विभिन्न किसिमको घटना हुन सक्ने र अन्तर्रांष्ट्रिय प्रतियोगिता हुने क्रममा आपराधिक क्रियाकलाप समेत बढ्न सक्ने भएकाले उपनिर्वाचन र साग सुरक्षा निकै चुनौतिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।
‘साग र उप निर्वाचन लक्षित सुरक्षा निकै चुनौतीपूर्ण छ, आफ्नो गाउँ ठाउँमा हुने होहल्ला , अविचित तत्त्व गुण्डागर्दी हुनसक्छ, हामिलाई तत्काल खबर गर्नुहोला’, एसपी कार्कीले भने । यो उपनिर्वाचन अन्य आम निर्वाचनभन्दा बढी संवेदनशील भएको र सबैको ध्यान यही ठाउँमा भएकाले सुरक्षाको दृष्टिकोणले पनि चुनौतीपूर्ण भएको उनको तर्क छ । ‘प्रत्येक जिल्ला बाट ए एक जना अपराधिक क्रियाकलाप गर्ने व्यक्ति आए पनि ७७ जना आइपुग्छ्न हामीले सोही अनुसार आफ्नो योजना बनाएका छौँ’, एसपी कार्कीले भने,‘कास्की २ मा हुने उपनिर्वाचनको लागि अति संवेदनशील क्षेत्र,संवेदनशील र सामान्य क्षेत्र गरि विभिन्न छुट्टयाएका छाँै सोही अनुसार योजना छ चारै तहको सुरक्षा निकाय तैनाथ हुनेछ ।’ उनका अनुसार प्रहरीले सुरक्षाको लागि निर्वाचन र खेल गरि दुई संयन्त्र बनाएको छ । अफिसियल ,भिभिआइपि ,भिआइपी कहिले आउने कति आउने र कहाँ बस्ने भन्ने अझै यकिन भएको छैन । यसले गर्दा सुरक्षा योजना बनाउन केही कठिनाइ भएको छ कार्कीले बताए ।





