पोखरा, ७ मंसिर – नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको जिकिर गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूभाग कालापानी तथा लिपुलेक समेटिएको भन्दै सर्वत्र विरोध भइरहेको बेला पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ओलीको सहमति बिना भारतले नक्सा छाप्नै नसक्ने दावी पनि गरे ।
‘ओली राष्ट्रवादी नै हैनन्, ओलीले भारतसँग भित्रभित्र सल्लाह गरेर भारतले नक्सा छापेको हो । भारतले नक्सा छापेको ओलीसँग सल्लाह गरेरै छापेको हो, त्यसै छाप्छ ? ओलीको विना सहमतिमा छाप्नै सक्नैन’, शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले भने,‘म प्रधानमन्त्री भएकै बेला महाकाली सन्धी भएको हो । महाकाली सन्धीमा महाकालीलाई सीमा नदी मानेको छ । कालापानी महाकाली पूर्वको जमिन हो ।कसरी नक्सा छापियो, महाकाली सन्धीपछि त्यस्तो ( नक्सा ) छापिएको थियो ?’ महाकाली पूर्वको कालापानी र लिपुलेक भारतलाई बुझाएर प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेको आरोप पनि उनले लगाए । उनले नेपालको एक इञ्च पनि जानु हुँदैन भन्दै त्यसको लागि खवरदारी गर्नुपर्ने औंल्याए । सभापति देउवाले वर्तमान सरकारले अख्तियारलाई शाही आयोगजस्तै बनाएर सबैलाई तर्साउन खोजेको र संवैधानिक आयोगलाई पनि पंगु बनाउन खोजको पनि बताए ।
‘ओलीले राष्ट्रवाद राष्ट्रवाद भने, खै त राष्ट्रवादमा अडिएका ? त्यही राष्ट्रवादको नारामा जनतालाई उल्लु बनाएर जिताएका ( नेकपालाई ) हैनन्, कहाँ छ राष्ट्रवाद ?’,आक्रामक बनेका उनले थपे,‘उन( ओली)को राष्ट्रवाद त कालापानीमा गएर समपर्णवादमा घुँडा टेकेको छ । लम्पसारवादमा परिणत भएको छ ।’
उनले देशका विभिन्न ठाउँमा हुन लागेको उपनिर्वाचन सरकार बन्ने र सरकार हार्ने नभए पनि यो सरकार कति अलोकप्रिय भएको छ भन्ने ऐना देखाउने चुनाव भएको बताउँदै नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले ओली सरकार आएपछि के–के न गर्छु भनेर हिँडे पनि भ्रष्टाचार र लुटतन्त्र मात्रै मच्चाएको बताए ।
‘सरकारले यसरी भ्रष्टाचार बढाएको छ कि उपभोक्ता समितिहरुको नाममा लुटतन्त्र सुरु भएको छ, यस्तो लुटतन्त्र, भ्रष्टाचार कहिल्यै भएको थिएन’, उनले भने, ‘अहिलेको जनमत कर बढाएको र भ्रष्टाचारको खिलापमा हो भन्ने प्रमाणित गर्नुपर्छ ।’चुनावी सभामा बोल्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई झुक्याउने काम मात्रै गरेको जिकिर गरे । युवा नेता गगन थापाले पूर्वमन्त्री रवीन्द्र अधिकारीको सपना पूरा गर्न उनको परिवार चाहिन्छ भन्नु नै गलत भएको जिकिर गरे । आफूहरुले यो सरकारले बाँकी तीन वर्ष राम्रो गरोस् भन्ने कामनाले नै आफूहरुले खवरदारी गरेको उनको भनाई थियो । कांग्रेस महामन्त्री शेखर कोइराला, डा. रामशरण महत, उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार खेमराज पौडेल, कांग्रेसबाट प्रदेशसभा सदस्य कुमार खड्का र विन्दुकुमार थापालगायतले बोलेका थिए ।





