पोखरा, ११ मंसिर – पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो । प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।
बम विस्फोटमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । दिउँसो पौने एक बजे चुनावसभास्थलको पश्चिम कुनामा विस्फोट भएपछि केहीबेर होहल्ला र त्रास उत्पन्न भएको थियो। पछि सुरक्षाकर्मीहरुले खासै ठूलो विस्फोट नभएको र क्षति केही नभएको सूचना दिएपछि सभा संचालन भइरहेको छ।





