पोखरा, १९ मंसिर – मंसिर १४ को उपनिर्वाचनमा बाग्लुङ २ ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विहिवार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा उनलाई प्रदेश सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम सपथ दिलाएका हुन् । शाही राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन् । उनलाई नेकपाले समर्थन गरेको थियो ।
सपथग्रहण पश्चात उनले आफ्ना क्षेत्रका जनताको समस्या संसदमा उठान गर्ने र नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘हाम्रो क्षेत्रमा खानेपानी, विद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा थुप्रै समस्याहरु छन्, यसबाट जनता प्रत्यक्ष रुपमा प्रभावित छन्, संसदबाट मैले यिनै विषयमा आवाज उठान गर्नेछु ।’ शाहीले ढोरपाटनसंग भने, ‘आम नागरिक र जनताको पक्षमा नीति निर्माण गर्ने विषयमा मेरो महत्वपूर्ण भूमिका रहने नै छ, गणतन्त्रको संस्थागत विकास गर्न, राष्ट्रिय स्वाधिनताको पक्षमा पनि मेरो भूमिका हुनेछ ।’
सपथ पश्चात बधाई दिदै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले विधायिकाका रुपमा संविधानलाई इमान्दारसाथ पालना गर्ने र कानूनलाई कार्यान्वयन गर्ने दायित्व थपिएको वताए । ‘सभासदको भूमिका निभाउनुहुनेछ, काननु निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न विषयमा यहाँको प्रभावकारी भूमिका हुने आशा गर्दछौ, सभामुख अधिकारीले भने, ‘हामीसंग संविधान छ, कानुन छ, यसको इमान्दारसाथ यसको पालना र कार्यान्वयन गर्ने दायित्व हामी सवैको हो ।’
बधाई मन्तब्य राख्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघिय गणतन्त्रको संस्थागत विकास, संरचना निर्माण, समृद्ध नेपाली र सुखी नेपालीको नारालाई प्रदेशको तर्फबाट कार्यान्वयन गर्ने दायित्व प्रदेशसभामा रहेको वताए । ‘अब सडक र आन्दोलनबाट होइन, शान्ति र सुशासनका लागि सदनबाटै भूमिका निर्वाह गर्नुपर्दछ’, मुख्यमन्त्री गुरुङले भने, हाम्रा वारेमा पनि प्रश्न छन तर जनताको अभिमतलाई कदर गर्दै काम गर्नुपर्ने छ ।’
सो अवसरमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको तर्फबाट बधाई दिदै सांसद कुमार खड्काले प्रदेशसभालाई थप प्रभावकारी बनाउन सांसद खिमविक्रम शाहीको महत्वपूर्ण भूमिका हुने आशा ब्यक्त गरे ।
उक्त क्षेत्रबाट यसअघि निर्वाचित टेकबहादुर घर्तीमगरको २०७५ मंसिर २७ गते जण्डिसका कारण उपचाररत रहेकै अवस्थामा निधन भएको थियो । त्यसपछि रिक्त स्थानको लागि मंसिर १४ गते उपचुनाव भएको हो । उपचुनावमा राजमोका शाहीले ११ हजार दुई सय ३५ ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतले पराजित गरेका थिए । शेरचनले नौ हजार १३८ मत ल्याएका थिए ।





