पोखरा नेपाल प्रहरीले देशभर बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ ।
प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ कार्यान्वयनमा गरेको हो । चोरी, डकैती, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार र अवैध हुन्डीलगायतका गतिविधि नियन्त्रणलाई प्राथमिकता दिइएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी अबिनारायण काफ्लेले असोज २१ गतेदेखि लागू भएको विशेष सुरक्षा योजनामा अपराध रोकथाम, सक्रिय रुपमा प्रहरी परिचालन, सडक दुर्घटना न्यूनीकरण र प्रविधिको प्रयोगमा जोड दिइएको बताए ।
चाडपर्वलक्षित सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ५० हजार ४५८ प्रहरी परिचालन गरिएका छन् । गण्डकी प्रदेशमा पाँच हजार १८८ प्रहरी परिचालन हुनेछन् ।
चाडपर्वको समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने, बजारमा भिड हुने र घर खाली गरेर बाहिरिने नागरिकको सङख्या बढ्ने भएकाले त्यस्तो क्षेत्रमा सुरक्षा निगरानी बढाइएको प्रवक्ता काफ्ले बताए ।





