म्याग्दी, २० मंसिर – युट्युब च्यानल ‘रमाइलो छ संसार’ ले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ ।
इजरायलमा रहेको एक समुहले संचालन गरेको ‘रमाइलो छ संसार’ नामक युट्युब च्यानलबाट प्राप्त कमाई मध्येको ४० हजार रुपैयाँ च्यानलका सञ्चालक धनु काउचा मगरले केन्द्रका अध्यक्ष महाविर पुनलाई हस्तान्तरण गरेका हुन् ।
नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको केन्द्रलाई काउचा मगर, चित्र जुग्जाली मगर, बिबश आले मगर, लाल दुरा, समिर छन्त्याल सहितका यूवाहरुले मनोरञ्जन तथा जानकारीमूलक कार्यक्रमरु राखेर च्यानल सञ्चालन गरेका थिए ।
‘पैसा कमाउन नभई रमाईलोका लागि युट्युब च्यानल खोलेका थियौ,‘केही पैसा पनि कमाई भएपछि सामाजिक कार्यमा सहयोग गर्यौं’ मालिका गाउँपालिका–७ बिमका चित्र जुग्जालीले भने ।
उनका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई मनोरञ्जन सहित जानकारीमुलक गतिविधि सञ्चालन गर्ने गरिए च्यानल खोलेको अवस्थामा कमाई भएपछि पहिलो सहयोग आविष्कार केन्द्रलाई गरेको बताए। रमाईलो छ संसार च्यानलबाट आएको आर्थिकले भविष्यमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए ।
इजरायलमा फुर्सदको समयमा च्यानलमार्फत विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएपछि सर्वसाधारणको सहयोगमा स्थापना गरेको अवस्थामा निरन्तर सहयोग प्राप्त भइरहेको पुनले बताए ।
सोही अवसरमा केन्द्रका अध्यक्ष पुनले धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए । ‘आविष्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ,‘सहयोगलाई नेपालीको सपना पुरा गर्ने अभियानमै प्रयोग गर्छु’ पुनले भने ।
केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् ।





