काठमाण्डाै,२४ मंसिर – बुधबार बेलुकीदेखि देशभरको मौसम बदली भएर उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र बुधबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले बुधबार बेलुकीदेखि नै यसको असर नेपालमा पर्ने देखिएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।यो प्रणालीको असर बुधबार रातीदेखि नेपालको पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा र बिहीबार मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा देखिने माैसमविद श्रेष्ठले बताए । मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना निकालेर बुधबारदेखि यो प्रणाली सुरु भएर आउँदो शनिबारसम्म रहने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ । मंगलबार भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ । अहिले सामान्य बद्ली भएको पूर्वी र मध्य क्षेत्रमा पनि दिउँसो घाम लाग्ने मौसमविद्को भनाई छ ।





