काठमाडौं, २६ मंसिर – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबारबाट ६६ वर्ष टेकेका छन्। २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविसमा जन्मिएका दाहालको आज ६६ औं जन्मदिन हो। २०४६ सालमा तत्कालीन नेकपा मशालको महामन्त्री बनेका उनी त्यसयता निरन्तर मुख्य नेतृत्वमा छन्। अहिले उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष छन्। तत्कालीन एमाले र माओवादी केन्द्र बीचको एकतापछि बनेको नेकपाका दुई अध्यक्षमध्येका एक हुन्, उनी।
पार्टीभित्र दुई अध्यक्ष भएपछि उनले पार्टीमा आफू पनि अध्यक्ष भएको एकताको यो १८ महिनासम्म ‘फिलिङ’ गर्न सकिरहेका थिएनन्। तर मंसिर ४ गतेको सचिवालय बैठकले पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्री केपी ओलीलाई सरकार र प्रचण्डलाई पार्टीको कार्यकारी जिम्मा दिने औपचारिक निर्णय गरेपछि भने उनी अहिले पार्टीको काममा सक्रिय छन्।
कार्यकारी अध्यक्षको जिम्मेवारी लिएयता उनले लामो समयदेखि अवरुद्द पार्टी सञ्चालन प्रक्रियालाई गति दिन एक वर्षदेखि बस्न नसकेको स्थायी समिति बैठक २९ र ३० मंसिरका लागि बोलाएका छन्। भोलि (शुक्रबार) पनी पार्टीको सचिवालयको बैठक बस्दैछ। स्थायी समिति बैठकमा दाहालले पार्टीका तर्फबाट आगामी कामको कार्ययोजना समेटेर राजनीतिक प्रतिवेदन प्रस्तुत गदैछन्। वैचारिक राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव र जनपरिचालन सम्बन्धी प्रस्ताव समेटेर उनले आगामी स्थायी समिति बैठकमा पार्टीको ६ महिने कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुुत गदैछन्।
यस अगाडि नै सामान्य खाका तयार पारिसकेका उनले जन्मदिनमा निवास (खुमलटार) मै बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने काम गरिरहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ। निवासमा शुभकामना दिन पुग्ने र भेट्न आएका नेता कार्यकर्तासँग सामान्य भेटघाट मात्रै गरी अन्य कार्यक्रम स्थगित गरी उनी दिनभर दस्तावेज लेखनमा जुटेका हुन्। ‘अध्यक्ष आज घरमै पार्टीको प्रतिवेदन लेखेर बस्नुभएको छ,’ दाहालको सचिवालयका एक सदस्यले भने।
‘प्रचण्ड’ को चिनारी :
प्रचण्डको जन्म २०११ मंसिर २६ गते बुबा मुक्तिराम र आमा भवानीको जेठो छोराको रुपमा कास्कीको ढिकुरपोखरीमा भएको हो। उनको प्रारम्भिक शिक्षा त्यहीँबाट सुरु भयो। उनले २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरे। २०२९ मा पाटन क्याम्पसबाट आइएसी र २०३३ मा रामपुर क्याम्पसबाट स्नातक गरे । प्रचण्डले एमपीएसम्मको अध्ययन गरेका छन्। उनी २०३८ देखि २०६३ सम्म भूमिगत रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नामले चिनिन्थे।
२०२६ वैशाखमा सीता पौडेलसँग वैवाहिक सम्बन्धमा गाँसिएका प्रचण्डका तीन छोरी छन्। उनका एक मात्र छोरा प्रकाश दाहाल हुन् । उनको निधन भइसकेको छ ।सुरुमा उनले नारायणी विद्या मन्दिर शिवनगर, डण्डा मावि नवलपरासी, भीमोदय मावि आरुघाट, गोरखामा अध्यापन गरे।
प्रचण्डले २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता लिएर राजनीतिक जीवन सुरु गरेका हुन् । उनले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे। उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए। उनी २०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव हुँदै २०४० सालमा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए।
प्रचण्ड २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। २०४२ सालमा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र) को महामन्त्री भए। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भए।
२०५२ सालमा आफ्नै नेतृत्वमा जनयुद्ध सुरु गरेका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए। २०५८ मा ‘जनमुक्ति सेना नेपाल’ को सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका हुन्। उनी २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए। २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित भए। २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनः अध्यक्ष पदमा निर्वाचित भए।
उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ १० र रोल्पा २ बाट निर्वाचित भएका थिए। २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी सिरहा ५ बाट निर्वाचित भए। प्रचण्ड २०७३ साउन १९ गते दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए। प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचना लगायतका पुस्तक प्रकाशित छन्।





