चितवन,७ पुस – २ सय २० यात्रु क्षमताको क्रुजसिपको नारायणी नदीमा सफल परीक्षण भएको छ। आइतबार बेलुका २५ जना यात्रुसहित सिपको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए।सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको हो। परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कँडेलले जानकारी दिए।अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ। क्रुज सिपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उनले बताए।गत चैतबाट निर्माण सुरू गरिएको क्रुजसिप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो।
स-साना प्राविधिक कामले ढिला हुन पुगेको कँडेलले बताए।अब क्रुजसिपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ।
१५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ।





