बागलुङ, १० पौष– भीमापोखरा युवा क्लव (बिवाईसी) बागलुङ ३५ बर्षमा प्रबेश गरेको छ । क्लवले बुधबार आफ्नो ३४ औं स्थापना दिवश तथा २८ औं बार्षिक साधारणसभा आयोजना गर्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य मना कुमारी केसीले पछिल्लो समय भारतले सार्वजनिक गरेको राजनीतिक नक्सा प्रति लक्षित गर्दै सगरमाथाको शिर जस्तै बिरासत भएको देशलाई शक्तिका आधारमा कम आँकलन नगर्न आग्रह गरिन् । सत्तासिन दल नेकपाको जिल्ला सह–इन्चार्ज समेत रहेकी केसीले सरकारले गरेका कामको प्रसंसा गर्दै साना साना कुरामा व्यंग्य गर्नुको साटो रचनात्मक हिसावले आईलागेका समस्या समाधानमा सबै लाग्नुपर्नेमा जोड दिईन् । ‘प्याजको मुल्य बढ्यो भनेर प्याजको दाना सामाजिक सञ्जालमा राखेर व्यंग्य गर्ने होईन प्याज उत्पादन गरेर बढेको मूल्यलाई चुनौती दिने हाम्रो काम हो’ केसीले भनिन् ‘सरकारलाई सघाउनु नागरिकको दायित्व हो ।’
देशमा सामाजिक संस्थाहरुले समाज रुपमान्तरणको लागि गरेको योगदान अतुलनीय रहेको उनको भनाई थियो । समाजदेखि परिवार सुधार सम्मका काममा सामाजिक संस्थाहरुको भूमीका खेलेको भन्दै उनले जनजागरणका कार्यक्रममा जोड दिन आग्रह गरिन् । बिधिको शासन स्थापित गराउन सरकारी र गैह्रसरकारी संस्थाहरुको भूमिका उत्तिकै भएको उनको धारणा थियो । साधारणसभाका अवसरमा संस्थाले बिभिन्न बिधामा योगदान गर्ने आधा दर्जन बढी व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । संस्थाले सामाजिक उत्तरदायित्व बोध गर्दै बिद्यामन्दिर छात्रावासका २४ जना छात्राहरुलाई व्लाङ्केट वितरण गरेको छ । आवासीय रुपमा रहेका छात्राहरुलाई चिसोका कारण समस्या नहोस भनेर व्लाङ्केट उपलव्ध गराईएको संस्थाका सचिव तोयानाथ गौतमले बताए । कार्यक्रममा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, नेपाली कांग्रेका जिल्ला सभापति दिपेन्द्र थापा, नेकपा काठेखोलाका अध्यक्ष डिलबहादुर कार्की, काठेखोला गाउँपालिका १ का अध्यक्ष खडक थापा, २ का वडाअध्यक्ष बिद्यापति शर्मा, संस्थाका संस्थापक टिकाराम सापकोटा, जिल्ला प्रसाशन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, ढोरपाटन दैनिकका सम्पादक हरिनारायाण गौतम, पशुबिज्ञ केन्द्रका रामजीप्रसाद शर्मा, दातृ निकायका तर्फबाट गणेश बडुवाल र तुलाराम चौधरी, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज शर्मा, धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेल, संस्थाका आजीवन सदस्य भीमप्रसाद गौतम लगायतले बोलेका थिए । कार्यक्रममा सचिव तोयानाथ गौतमले प्रगती प्रतिवेदन र कोषध्यक्ष दिपक गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन सर्व सम्मतिले पारित भएको छ । कार्यवहाक अध्यक्ष मणिभद्र शर्माको अध्यक्षता, सह सचिव बिष्णु बिकको स्वागत र सचिव तोयानाथ गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अध्यक्षमा शर्मा
भीमापोखरा युवा क्लव (बिवाईसी) बागलुङको अध्यक्षमा मणिभद्र शर्मा निर्वाचित भएका छन् । बागलुङमा सम्पन्न साधारणसभाले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । शर्मासँगै आगामि ४ बर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा तोयानाथ गौतम, सचिवमा दिपक गौतम, सह–सचिवमा बिष्णु बि.क, कोषाध्यक्षमा गंगाकुमारी शर्मा र सदस्यहरुमा पार्वती परियार, कमला थापा, शान्ती कुमारी ज्ञवाली, सुरेश थापा, गंगाबहादुर हमाल र खिमबहादुर कार्की चयन भएका छन् । नव निर्वाचित अध्यक्ष शर्माले संस्थाको बिधि बिधान र कानुनको दायरामा रहेर संस्थागत हितमा काम गर्ने प्रतिबद्धता जनाए । संस्थालाई अझै उचाईमा पु¥याउने उनले दावी गरे ।





