बागलुङ, १० पौष– पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले नयाँ बन्ने शिक्षा ऐनले देशको शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्ने बताएका छन् । नेपालमा सार्वजनिक शिक्षाका लागि भौतिक पुर्वाधारको समस्या नरहेको भन्दै शर्माले गुणस्तरीय शिक्षाका लागि शैक्षिक संस्थाहरु अझै चुकेको बताए । नयाँ कानूनले व्यवहारिक शिक्षामा जोड दिएको पनि उनले बताए । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको पृथ्वी हिरण्य माध्यमिक विद्यालयको ६० औं बार्षिकोत्सवमा बोल्दै शर्माले नेकपा नेतृत्वको सरकारले शैक्षिक सुधारका लागि ल्याएका कार्यक्रम प्रभावकारी बन्दै गएको पनि बताए । कानूनी समस्याका कारण कतिपय शैक्षिक संस्थाहरुले चाहेर पनि व्यवहारिक शिक्षा दिन नसकेको भन्दै शर्माले अब सहज कानूनी व्यवस्था बन्नेमा जोड दिए । उनले नेकपाको सरकारले पछिल्लो समय गरिरहेका काम देश र जनताको हितमा रहेको भन्दै सरकारको बचाउ गरे । ‘सरकारले विकास र समृद्धिको कामको सुरुवात मात्रै गरेको छैन त्यसका परिणमहरु देखा पर्न थालिसकेका छन्’ शर्माले भने ‘गति बढाउन आवश्यक छ, अव गति पनि बढ्छ ।’ उनले समाज परिवर्तनको मुख्य आधार शिक्षा भएको भन्दै शिक्षा क्षेत्रमा सबैको ध्यान पुग्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा स्थायी समिति सदस्य बागलुङ क्षेत्र नं २ का सांसद देवेन्द्र पौडेलले निर्वाचनका बेला गरेका प्रतिबद्धता पुरा गर्न आँफु तयार रहेको बताए । पछिल्लो समय छिमेकी मुलुक भारतले सार्वजनिक गरेको राजनीतिक नक्सा प्रति आफ्नो र पार्टीको आपत्ति रहेको भन्दै भारतले त्यस्तो कदम तत्काल सच्चाउनुपर्ने बताए । नेकपाका सुभेच्छुक तथा भातृ संगठनहरु एकताको काम अन्तिम चरणमा पुगेको भन्दै पौडेलले एक दुई हप्तामानै एकता प्रकृयाले पुर्णता पाउने पनि बताए । ‘हामी सांगठनीक एकताका लागि तीब्र गतिमा काम गरिरहेका छौं’ पौडेलले भने ‘सबै जनबर्र्गीय संगठनहरु एक दुई सातामै एक भएर अघि बढ्छन ।’ पौडेलले जिल्लाको शैक्षिक बिकासका लागि कुनैपनि आफूले पनि सहयोग गर्ने बताए । कार्यक्रममा नेकपा बागलुङका इन्चार्ज बतावती शर्मा, कार्यालय सदस्य कृष्ण पाठक, नेकपा बागलुङ नगर कमिटिका अध्यक्ष धनबहादुर परियार, नेकपा बानपा–१२ का तर्फबाट ज्ञानेन्द्र ढकाल, नेपाली कांग्रेसका कोपिलामणी शर्मा, राजमोका घनश्याम बिक, समाजवादी पार्टीका दलबहादुर खड्का लगायतले बोलेका थिए । बार्षिकोत्सवको अवसरमा बिद्यालयले बिबिध खेलकुद तथा सांकृतिक कार्यक्रमहरु आयोजना गरेको थियो । प्रतियोगिताहरुमा बिजेताहरुलाई बुधबारनै पुरस्कृत गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चापागाईंले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकको अध्यक्षता शिक्षकहरु कमला शर्माको स्वागत र सुनिल शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





