आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी


  • Dhorpatan News
  • पुष ११ २०७६, शुक्रबार

बागलुङ,११ पुस – ग्लोबल आइएमई बैंक तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनी अहिले महासंघको वस्तुगततर्फका उपाध्यक्ष छन् । आउँदो चैतमा महासंघको चुनाव हुँदैछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार शेखर अध्यक्षको जिम्मेवारी भने हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पाउने छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राख्ने कि नराख्ने भन्नेमा महासंघमा लामो विवाद भएको थियो ।विधान संशोधनको प्रस्ताव पारित नभएपछि गोल्छाले यो अवसर पाएका हुन् ।
गृहजिल्ला बागलुङ उद्योग वाणिज्य संघले ढकाललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गरेको हो ।शुक्रबारबाट सुरु भएको बागलुङ महोत्सवको उद्घाटन कार्यक्रममा देशैभरबाट आएका निजी क्षेत्रका प्रतिनिधिहरुको सामु उनले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेवार बन्ने घोषणा गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा अर्का उपाध्यक्ष किशोर प्रधानले पनि उम्मेदवारी दिने चर्चा छ ।
मेहनतले सफलता
बागलुङ अमलाचौरको एउटा ठिटो आमाले दिएको ३५ सय रुपैयाँ बोकेर काठमाण्डौ हानियो । पिता भगवानको प्यारो भएपछि आमा, भाई र बैनीलाई भरथेग गर्ने दायित्व पनि उनीसँगै थियो । उनी अर्थात् ग्लोबल आइएमइ बैंक तथा आइएमइ समूहका अध्यक्ष चन्द्र ढकाल ।
‘हो दिनभर हिँडेर स्याङ्जा नागडाँडा पुगेर बस चढेर काठमाण्डौ गएको हुँ’, पुसको पारिलो घाम ताप्दै उनले भने,‘त्यो बेला गाडी चढ्नै नहुने, बिरामी हुने ।’
विद्यार्थी हुँदा काठमाण्डौंको बसाई सहज थिएन । अहिलेजस्तो काठमाण्डौ ठूलो पनि थिएन । बागलुङतिरका मान्छे पनि काठमाण्डौमा कम । सापटी माग्ने मान्छे पनि नहुने । सीमित पैसाले महिना टार्नु पर्ने । पढाईपछि उनले राष्ट्रिय वाणिज्य बैंकमा खरिदारको जागिर पाए । करिब ४ वर्ष जागिर खाएपछि उनले सानो कोल्डस्टोर र मनि एक्सचेन्ज खोले । उनले केही समय युएई मनी एक्सप्रेसको एजेन्टको रुपमा काम गर्थे उनी ।

भाई (हेमराज ढकाल) ले उनलाई सघाए । आफैले काम गरेको बैंकसँग ऋण माग्दा नदिएपछि उनले जागिर नै छाडे । कार्गो व्यवसाय गर्ने अमेरिका जान हिँडेका उनले १० महिना जापानमा मजदूरी पनि गरे । जापान हुँदा नै उनले कमाएको पैसा पठाउँदाको दुःख बुझे । त्यो बेला हुण्डी चल्थ्यो । चन्द्रले नेपाल फर्केर २०५६ सालतिर आइएमइ अर्थात् इन्टरनेसनल मनी एक्सप्रेस खोले । विदेशबाट पैसा भित्र्याउन गाह्रो थियो । पहिलो त विश्वास जित्नुपर्ने, दोस्रो विनिमय दरमा आउने उतार चढावले पनि समस्या हुने । जोखिम मोल्ने ढकालको स्वभावले काम ग¥यो । रेमिट्यान्सको पर्याय नै आइएमइ बनाउन आफूले ठूलो मेहनत गरेको उनले बताए ।
अहिले उनीसँग नेपालकै ठूलो बैंकसहित अनेकौँ व्यवसाय छन् । तर, काठमाण्डौ जाँदासम्म पनि उनमा यो स्तरको व्यवसाय गर्छु भन्ने पटक्कै थिएन रे । ‘भाई बहिनी आमालाई हेरबिचार गर्ने मात्रै कुरा थियो’, उनले थपे,‘बैंकमा जागिर पाउँदा साह्रै खुसी भइयो, अझ मेरी आमाको त खुसीको सीमा नै थिएन होला ।’
व्यवसाय कसरी बिस्तार हुँदै गयो त ? उनले सहज रुपले उत्तर दिए,‘ सपनाभन्दा पनि मेहनतसाथ काम गर्दै गयो भने आफै सफल भइन्छ जस्तो लाग्छ । बिहान बेलुका छाक टार्न गाह्रो थियो, ठूलो सपना देख्ने कुरै थिएन । आफ्नो हिसाबले लगनशील भएर काम गर्दै गइयो, अहिले पनि त्यही हो । अहिले पनि मेरो ठूलो महत्वकांक्षा छैन । इमान्दारितापूर्वक काम गर्दा सफलता आफै हात लाग्छ ।’ ५४ वर्षीय ढकाललाई चिन्नेहरु उनी सरल र मेहनतले बनेको मान्छे भएको बताउँछन् । सजिलोसँग साथीहरुको समस्या सुल्झाउने व्यक्तिको रुपमा पनि उनलाई सम्झने धेरै छन् । पछिल्लो समय उनी सामाजिक काममा पनि उत्तिकै क्रियाशिल रहेका छन् । उनी भन्छन्,‘आफू एउटा स्तरमा पुगेपछि अरुको लागि केही गरौँ भन्ने लाग्छ, मैले अहिले गरेको सहयोग पनि त्यस्तै हो ।’
यति ठूलो व्यवसायलाई सफलतापूर्वक कसरी अघि बढाउँछन् त उनी ? उनले भने,व्यवस्थापनको लागि सही ठाउँमा सही मान्छे चाहिन्छ । हिजोदेखि नै मेरो भाई छ । व्यवस्थापनमा हाम्रो टिम छ । उहाँहरुले नै हेर्नुहुन्छ ।’ निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिँदै गर्दा उनले लगानी मैत्री वातावरण बनाउने तथा व्यवसायीहरुका समस्या समाधान गर्ने नै आफ्नो ध्येय भएको बताउन पनि बिर्सेनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->