बागलुङ, १३ पुस – धवलागिरी साहित्य प्रतिष्ठानले यो बर्षको भूपी शेरचन साहित्य पुरस्कार दोलखाका कवी तथा स्रस्टा मोहन चापागाईलाई पुरस्कृत गरेको छ । साहित्यको क्षेत्रमा बिशिष्ट योगदान गरेको भन्दै बागलुङमा आयोजित भूपी जयन्ती समारोहमा पुरस्कार प्रदान गरिएको हो । कवि शेरचनकी धर्मपत्नि कान्ति शेरचनले नगद २५ हजार र प्रमाणपत्र प्रदान गरिन् । उक्त अबसरमा बोल्दै शेरचनले राष्ट्रिय कविको स्मृतिमा हरेक बर्ष धवलागिरी साहित्य प्रतिष्ठानले जयन्ती मनाएको र स्थापित पुरस्कार कोषमा आएर पुरस्कार दिन पाएकोमा खुसी व्यक्त गरिन् । साथै उनले शेरचनले नेपाली साहित्यमा गरेको योगदानको राज्यतहबाटै सम्मान हुनुपर्ने बताईन् ।
प्रतिष्ठानले यो बर्ष भैरहवाको थकाली सेवा समाजलाई पनि सम्मान गरेको छ । प्रतिष्ठानले हरेक बर्ष व्यक्तिगत पुरस्कार र संस्थागत सम्मान कार्यक्रम गर्दै आएको अध्यक्ष काजी रोशनले बताए । चापागाईका दर्जनबढी निबन्ध र नियात्रा संग्रह प्रकशित छन् । त्यस्तै कबिता, हाइकु र अन्य बिधाका संग्रह पनि प्रकाशित छन् । निजामती प्रशासनमा लागेका चापागाई नेपाल सरकारको सहसचिव पदबाट निवृत्त भएका हुन् ।
कार्यक्रममा वक्ताहरुले साहित्य प्रतिष्ठानको नियमितको काम, अध्यक्ष काजी रोशनले निरन्तर खटिएर साहित्यको क्षेत्रमा गरेको योगदानको प्रसंसा गरेका थिए । प्रतिष्ठानका अध्यक्ष काजी रोशनको अध्यक्षता, कोपिला कंडेलको संचालन र पद्मनाथ शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा म्याग्दीका धु्रबलाल शर्मा, पर्वतकी सरस्वती शर्मा जिज्ञाशु, हरिप्रसाद पाण्डेय नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष लगायतले बोलेका थिए । भूपि शेरचनको योगदान सहित प्रतिष्ठानले भानुभक्त, मोतिराम र लक्ष्मीप्रसाद देवकोटाको जयन्ती मनाउने तथा अन्य साहित्यिक क्रियाकलाप पनि गर्दै आएको छ ।





