आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भ्रमण बर्षलाई लक्षित गरि कालीगण्डकी नदीमा “क्रुज सिप” सञ्चालन

भ्रमण बर्षलाई लक्षित गरि कालीगण्डकी नदीमा “क्रुज सिप” सञ्चालन


  • माधव पराजुली
  • पुष १३ २०७६, आइतबार

पोखरा,१३ पुस – नेपाल भ्रमण बर्ष २०२० लाइ लक्षित गरि कालीगण्डकी नदीमा क्रुज सिप सञ्चालन गरिएको छ । पर्वत,गुल्मी र स्याङजाको संगम स्थलमा कालिगण्डकी जलविधुत आयोजनाका क्रममा बनेको जलाशयमा क्रुज सिप सञ्चालनमा ल्याइएको हो । यस जलयात्राको लम्बाई ७ कि.मि. रहेको छ । २५ लाखको लागतमा ईटहरीमा निर्माण गरिएको क्रुज सिप (माउण्ट मकालु पानीजहाज) शालिग्राम कालीगण्डकी जलयातायात (पानी जहाज) कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्याएको हो ।
क्रुज सिपको शनिवार गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वतावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका छन। उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न सकिने बताए । भ्रमणवर्ष २०२० लक्षित गरी सञ्चालनमा ल्याइएको क्रुजसिपले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।
मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मीक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको चर्चा गर्दै देवघाट,रानीमहल,सेतीवेणी,मोदीवेणी हुदै मुक्तीनाथ सम्मको धार्मीक पर्यटकीय स्थललाई एउटा प्याकेजका रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए ।
कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खीम बहादुर थापाले पर्यटकी प्रचुर सम्भावना भएर पनि यस क्षेत्र सधै ओझेलमा परेको बताउदै कालिगण्डकी जलशायमा जलयात्रा सँगै अन्य पर्यटकिय गतिविधिहरु बढाउने योजनामा आफुहरु रहेको बताए । पर्वतको विहादी गाउँपालिका,स्याङ्जाको गल्याङ नगरपालिका,कालिगण्डकी गाउँपालिकामा पर्ने यस क्षेत्रमा तिन तह मिलेर पर्यटकीय योजना बनाई अगाडि बढ्ने उनको भनाई थियो ।
कालिगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी बाट शुरु भएको जलयात्रा विश्व प्रख्यात तथा प्रसिद्ध पर्यटकीय स्थल शिला शालिग्राम भएको स्थान सेतीवेणी सम्म पुगीन्छ । विश्वकै ठुलो शालिग्राम दर्शन गर्न आउने पर्यटकहरुले जलयात्र गरी मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । सेतीवेणी बाट मिर्मी सम्मको जलयात्रा गर्ने तथा शिला शालिग्राम दर्शनका लागि मिर्मी बाट जलयात्रा गर्ने पर्यटकहरु अब १० मिनेटमै पुग्ने कम्पनीका सञ्चालक चित्र बहादुर रानाले जानकारी दिए ।
छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति पाएको यस कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराएता पनि तिन महिनाभित्र १२० ‘सिटर स्मल क्रुज’ सञ्चालन गरिने उनले बताए ।
यहाँ यस अघि देखिनै ईन्जिन र काठ बाट बनेको ५० देखि १ सय जना मानिसहरु सम्म बोक्न सक्ने क्षमताका १० वटा स्टिम्बर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->