काठमाडौं,१४ पुस – केही दिनदेखि उल्लेखनीय मौसम प्रणाली नभएको नेपालमा मंगलबारदेखि पश्चिमी वायुको प्रभाव सुरु हुने अनुमान मौसमविद्ले गरेका छन्।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार मंगलबार साँझ पश्चिमी वायुको न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएको हो। यो प्रणाली प्रवेशपछि पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुनेछ भने तराई क्षेत्रमा केही दिनदेखि जारी हुस्सु/कुहिरो हट्ने मौसमविद् अर्यालको अनुमान छ।‘जसले गर्दा पहाडी क्षेत्रमा चिसो अझ केही बढ्ने अर्थात् जति छ त्यतिमै रहने सम्भावना हुन्छ भने मौसम बदलीका कारण तराईमा अहिले लागिरहेको हुस्सु/कुहिरो हट्ने हुन्छ, जसले गर्दा त्यहाँचाहिँ चिसो केही कम हुन सक्छ,’ उनले भने।पश्चिमी न्यून चापीय प्रणाली मंगलबार राति भित्रिए पनि यसको प्रभावचाहिँ बुधबारबाट सुरु हुने मौसमविद् अर्यालले जानकारी दिए।मौसमविद्का अनुसार बुधबार देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ।पश्चिमी र पूर्वी पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।





