आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चिजाको हत्यामा संलग्न युवक पक्राउ

चिजाको हत्यामा संलग्न युवक पक्राउ


  • विजय नेपाली
  • पुष १४ २०७६, सोमबार

पोखरा,१४ पुस – पुस ८ गते माछापुच्छ्रे गाउँपालिका ५ पल्लो हुम्दी डाँडागाउँमा ६३ वर्षीय चिजाकुमारी विकको रहस्यमय हत्यामा संलग्न एक युवालाइ कास्की प्रहरीले पक्राउ गरेको छ । पुस ९ गतेबाट कतै नदेखिएपछि स्थानीयले मंगलबार उनको खोजी थालेका थिए ।
खोजतलासी कै क्रममा चिजाको घरमा पुगि झ्यालबाट हेर्दा दुर्गन्ध बाहिरसम्म आयो । ढोका फोरेर कोठामा हेर्दा सिरकले छोपेर राखेको अवस्थामै स्थानीयले चिजाको शव देखे । उनले लगाएका गहनो शरिरमा थिएनन् ।
स्थानीयले हत्या भएको आशंका गरी प्रहरीलाई खबर गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीको नेतृत्वमा गएको टोलीले घटनाबारे अनुसन्धान अघि बढाए र सफल भए । चिजाको हत्यामा संलग्नलाइ प्रहरीले चार दिनपछि कास्की जिल्ला बाहिरबाट पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले चिजाको घरमा पुस ६ गते राती एक पुरुष आएर मादक पदार्थ सेवन गरेको थाहा लाग्यो । सोही कुरालाई आधार मानी कास्की प्रहरीले अनुसन्धान गर्दै जादाँ म्याग्दी घर भई पोखरा हेम्जा बस्दै आएका खिमबहादुर श्रीपालीलाइ तनहुँ जिल्ला बाट पक्राउ गरियो । श्रीपालीले लुटेको सुन कास्कीमा बिक्री गर्न अहसज भएपछि तनहुँ गएर बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको हो ।
श्रीपाली विककै घरमा राती बास बसी सोही दिन ढुङ्गाले हानेर हत्या गरेको र सुन लुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
‘विकको हत्या टाउकोमा ढुङ्गाले हानेको देखियो , हत्यारालाई सुन बिक्री गर्ने क्रममा हामीले पक्राउ गरेका हौँ’, डिएसपी केसीले भने,‘ श्रीपालीले तनहुँमा सुन बेची सोही ठाउँमा डेरा लिइ बस्न थालेका थिए ।’कास्की प्रहरीले श्रीपालीमाथि कर्तव्य ज्यान तथा डाँका चोरीको मुद्दा दर्ता गरि थप अनुसन्धान अघि बढाएको कार्कीले बताए ।
यस्तै उक्त घटनामा लुटिएको सुन किन्ने व्यक्तिलाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्यामा संलग्नलाई थप सहयोग पुगेको भन्दै किन्ने पसलेलाई समेत नियन्त्रणमा लिएको हो । ‘हामीले पहिले नै सुन व्यवसायीलाई बिना बिलको सुन नकिन्न आग्रह गरेका थियौँ तर पनि कार्यान्वयन भएको देखिएन त्यसैले नियन्त्रणमा लिएका हौँ’, कार्कीले भने ।

१ वर्षअघिको जस्तै अहिले
गतवर्ष कात्तिक ११ गते राति माछापुच्छ्रे ८ खोरामुखकी ७९ वर्षीया कौशल्या गुरुङको हत्या भएको थियो । गुरुङका हत्यारा प्रहरीले अझै समात्न सकेको छैन । कास्कीको प्रहरी प्रमुख फेरिए तर पनि हत्या कस्ले ग¥यो भन्ने अहिले सम्म यकिन भएको छैन ।
एक वर्ष पछाडि सोही गाउँपालिकामा फेरि सोही प्रवित्तिको हत्या हुन पुग्यो । गुरुङको हत्या हुँदा पनि सुन लुटिएको थियो भने अहिले पनि सुन लुटिएको छ । विक र गुरुङको घटनास्थलमा धेरै समानता रहेको एसपी कार्कीले बताए । ‘दुबै घटनामा समानता देखिएको छ , हामी अनुसन्धान गर्दै छौँ’, कार्कीले भने ।
घटना करिब २ किलोमिटर टाढाको दुरिमा भएको पाइन्छ । गुरुङको शव खाटामुनि भेटिएको थियो । दराजमा राखेको कपडा, थैली, टाँसीमा राखिएका भाँडाकुडा पनि छरिएका थिए । उनले लगाइका कुनै गहना भेटिएनन् । गुरुङको पोस्टमार्टम रिपोर्टमा घाँटीमा ५ औंलाको डाम र टाउकोमा चोट देखिएको थियो । तर कास्की प्रहरीले भने अहिलेसम्म कस्ले हत्या र्गयो पत्ता लगाउन सकेको छैन । प्रहरी अनुसन्धान गरिरहेको बताउँछ । गुरुङको हत्या भएको पनि २ दिनपछि थाहा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->