पोखरा,१६ पुस – शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाह आफू राजा हुुनुपूर्वको ३ दिन पहिलो पोखरामा थिए । पोखरामा तत्कालीन राजा महेन्द्रले आफ्नी श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा बनाएको रत्नमन्दिरमा ज्ञानेन्द्रले रात बिताउँदा त्योबेलाको समयले २०५८ जेठ १९ लाई स्मरण गराउँछ । जुन दिन, तत्कालीन राजा विरेन्द्रको ‘दरबार हत्याकाण्ड’ मा वंशनाश भयो । विरेन्द्रका जेठा छोरा दीपेन्द्रलाई अचेत अवस्थामै राजा घोषणा गरियो । तर, विरेन्द्रको वंश बचेन ।
त्यसको तीन दिनपछि ज्ञानेन्द्रले राज्यारोहण गरे र शाहवंशको अन्तिम राजाको रुपमा नाम लेखाए । राजा हुनुपूर्व रत्नमन्दिरमा रात कटाएका ज्ञानेन्द्र अन्तिममा भने नारायणहिटीबाट बाहिरिए ।
दरबार हत्याकाण्ड र शाही शासनको अन्त्य हुँदै गर्दा पोखराको फेवाताल किनारको रत्नमन्दिर जहिले चर्चामा आइरहन्छ । शाही शासनको समाप्तिपछि राजपरिवारको जग्गा नेपाल ट्रष्टमा गयो । नारायणहिटी सर्वसाधारणको लागि खुला भयो ।
अहिले नारायणहिटी संग्रहालय बनेको छ ।
तर, राजपरिवारले विहार गर्न आउने पोखराको रत्नमन्दिर भने अझै पनि रहस्यमै छ । यही रहस्यलाई खुलाउने र अंग्रेजी नयाँ वर्षदेखि पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने चर्चाले रत्मन्दिर यो साता निकै चर्चामा आयो ।
प्रदेशकै पर्यटनमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग मौखिक सहमति भइसकेको र एमओयुमा हस्ताक्षर हुनमात्र बाँकी रहेको अभिव्यक्ति दिए ।
संघ सरकारको भ्रमण वर्ष २०२० अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात पौष १६ गतेदेखि सुरु हुँदैछ । गण्डकी प्रदेश सरकारले पनि आन्तरिक पर्यटन वर्ष २०१९ सकेर २०२० देखि नै छिमेकी भ्रमण वर्षको समेत थालनी गर्र्दैछ ।
यही छेकोमा रत्मन्दिर खुलाउने र पर्यटकीय गन्तव्य बनाउने चर्चा भएतापनि अन्तिममा रत्मन्दिर नयाँ वर्षमा नखुल्ने भएको छ ।
“ट्रष्टसँग हामीले नै खोल्ने भनेर एमओयुको तयारी गरेका थियौँ, पछि ट्रष्टको सञ्चालक रक्षामन्त्रीज्यूले सबै ठाउँमा सरकारले नै सञ्चालन गरेको छ । हामी त्यसलाई खोलिदिने कुरा ग्यारेण्टी भयो, हामीसँग पहिलोपटक कुरा गर्दा पुसाको १६ गतेभित्रै खोलिदिने कुरा गर्नुभएको थियो । बिचमा उहाँको बैठक प¥यो, संसदमा जवाफ दिनुप¥यो भनेर उहाँले .. ”
भोलि नै ढोका खोलेर वारपार गर्न दिनको लागि त समस्या छैन्, तर निरन्तरताको लागि कर्मचारी खटाउने, व्यवस्थापन गर्न्पर्ने, सिंगारपटारको कामका कारण हतार नगर्नुहोस भन्नुभयो ।
खोल्ने नै भएपछि पर्यटकले हेर्ने, अवलोकन गर्ने, हामीले त्यहाँ अरु पूर्वाधार बनाउने, वाटरफ्रन्ट बनाउने, ग्लासब्रिज राख्ने कार्य ट्रष्टसँग गर्नेछौँ ।
ढुक्क हुनुस, हिमागृह, रत्नमन्दिर सरकारले पर्यटनकै लागि लान्छ । यो अन्यत्र जाँदैन दिने सोच छैन् । सरकार यहीँ छ, सरकारले नै गर्नेछ, सरकारले दिन चाहे कसैले रोकेर पनि रोकिन्न ।
हिमागृह पनि रत्मन्दिरकै केही दुरीमा छ । यो भवन चाहिँ तत्कालीन राजा महेन्द्रका भाई हिमालयले बनाएका थिए । यी दुवै भवन अहिले काँडेतारसहितको अग्लो पर्खालभित्र नेपाली सेनाको सुरक्षामा छन् ।
खुलाउने पक्षमा आवाज
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको निर्वाचन क्षेत्रभित्र यी दुवै भवन पर्दछन् । प्रदेश सरकार स्थापना भएयता संसदमा उनले प्राय उठाउने विषयमध्ये रत्नमन्दिर र हिमागृह खुलाउने विषय पनि पर्दछ ।
“देशमा गणतन्त्र आउँदा पनि रत्नमन्दिरमा अझै गणतन्त्र नआउने ?” उनले संसदमा विषय उठाएका थिए ।
उनै पहारीले अबको १०÷१२ दिनमा नै रत्नमन्दिर र हिमागृह खुल्ने दाबी गरे ।
“१०÷१२ दिनमा खुल्छ, मैले निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट त्यहाँ बोटानिकल पार्क बनाउनको लागि २५ लाख रुपैयाँ पनि छुट्याइसकेँ ।” उनले भने ।
जनप्रतिनिधीसहित प्रदेश सरकार र पर्यटन व्यवसायी समेत यसलाई खुलाउनुपर्ने पक्षमा छन् ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटकीय गन्तव्यको रुपमा खुला गरिनुपर्ने बताउँछन् ।
पोखरा महानगरले पनि लिजमा लिएर आफैले चलाउने भन्दै ट्रष्टलाई पत्राचार गरेको छ ।
“ट्रष्टको नियमावली अनुसार हामीले लिजमा मागेर सञ्चालन गर्ने भनेका छौँ, प्रदेशले पनि मागेको छ ।” पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने ।
तर, नीजि कम्पनीलाई भाडामा दिने विषयमा चाहिँ स्थानीय सरकार सहित सर्वसाधारणको व्यापक विरोध छ । नेपाल ट्रष्टले गत शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै हिमागृहलाई रिसोर्ट चलाउने गरी भाडामा दिने तयारी भएको उल्लेख गरेको थियो ।
यसको विरोध पोखराबासीले गरेका छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भन्छन्, “नीजि क्षेत्रलाई दिनुहुँदैन, मैले होटेल बनाउनुपर्छ भन्ने पनि सुनेको छु, त्यसको नक्सापास महानगरले नै गर्नेहोला, अर्को कुरा सर्वोच्चले ६५ मिटरको मापदण्ड तोकेको छ, यसअघि बनेका संरचना भत्काउने अनि त्यहाँ अर्को भवन बनाउन दिने कुरा त असम्भव कुरा हो ।”
गएको आईतबार नै संघीय पर्यटनमन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलनमा बोल्दै भाडामा दिनै नहुने भन्ने शैली हटाउनुपर्ने बताए ।
रत्नमन्दिर र हिमागृहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ भनेर पोखरेलीको मागबमोजिम पर्यटन मन्त्रालयले प्रयास गरिरहेको उनले बताए ।
अहिले पोखराको लेकसाइडमा मात्रै हिमागृह र रत्नमन्दिरसहित नेपाल ट्रष्टको नाममा १७४ रोपनी जमिन छ। फेवातालमा जोडिएको यो जग्गा लेकसाइडको सबभन्दा उत्तम स्थानमा छ ।
यस्तै, १ रोपनी १२ आना पोखरा–७ रत्नचोकमा छ । यो जमिनमा स्थानीयले अहिले तरकारी खेती गर्छन् ।
गणतन्त्र स्थापना भएपछि पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति नेपाल ट्रष्टमा ल्याउँदा राष्ट्रहितमा प्रयोग गर्ने भनिएको थियो ।





