पोखरा,२४ पुस – उपप्रधान तथा रक्षामन्त्री र्ईश्वर पोखरेलले प्रणाली परिवर्तन भएको कारण सरकारले जनताले महसूस हुनेगरि काम गर्न नसकेको बताएका छन । संविधानको राम्रा पक्षलाई कानून र संरचनाको अभावमा प्रयोगमा ल्याउन नसकेकाले मुलुक अपठ्यारो स्थिति झेल्न बाध्य भएको उनको जिकिर थियो ।
मन्त्री पोखरेलले आवश्यक नीति, नियम र संरचनाको परिपूर्तिकाका लागि सरकार लागिपरेको वताए । विहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताए ।
सीमा सुरक्षाको विषयमा बर्तमान सरकारले पहिलो पटक औपचारिक ‘डिप्लोमेटिक नोट’ भारत सरकारलाई पठाएको स्मरण गर्दै सीमाको विषयमा एकलौटी रुपमा नक्सा सार्वजनिक गरेर मात्र नहुने जिकिर गरे । उनले सीमाबारे दुबै मुलुकको सहमति हुनुपर्ने बताए । सीमा समस्या समाधानको लागि भारत वार्ताको लागि तयार भएको तर औपचारिक मिति तय नगरेको पोखरेलले जानकारी दिए । सीमा विवाद समाधानको लागि ऐतिहाँसिक तथ्य र सवै नेपाली शक्ति एकजुट हुनुको विकल्प नरहेको उनको भनाई थियो । पार्टी कार्यकर्तालाई संवोधन गरेलगत्तै प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दा पनि मन्त्री पाखरेलले नेपालको एक इञ्च जग्गा पनि नछाडिने र भारतको पनि आफूहरुलाई नचाहिने बताए । उनले सुगौली सन्धीपछि पटक–पटक जग्गा मिचिएको बताउँदै यस्तो कुरा नेपाललाई स्वीकार्य नहुने जिकिर गरे ।
पार्टी एकता प्रकिया अन्तिम चरणमा पुगेको वताउँदै उनले माघ १५ गते बस्ने केन्द्रीय कमिटीको बैठकबाट सबै काम सकिने मन्त्री पोखरेलले बताए । राजनीतिक अस्थिरता ,जनता र कार्यकर्ताको चहाना अनुसार पार्टी एकता भएको भन्दै पार्टी र सरकारको काम व्यवस्थित गरेर अघि बढने उनको भनाई थियो । कार्यकर्ताहरु अन्तरघुलित हुनकालागि मानसिक रुपमा परिवर्तन हुन जरुरी रहेको उनको भनाई थियो । मत मिलाउनेतर्फ भन्दापनि मन मिलाउन पोखरेलले नेता कार्यकर्तालाई आग्रह गरे ।
फरक प्रसंगमा उनले हिमागृह र रत्नमन्दिर जनताको हितको लागि प्रयोग गरिने बताए । उनले प्रदेश सरकार र स्थानीय सरकारसँगको समझदारीमा कानून बनाएर नै यी दुई संरचनाको उपयोग गरिनेि जिकिर गरे । पत्रकार सम्मेलन प्रेस संगठन कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।





