मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

१७ वर्षीय किशोरले पत्ता लगाए विशेष ग्रह

१७ वर्षीय किशोरले पत्ता लगाए विशेष ग्रह


  • Dhorpatan News
  • माघ ३ २०७६, शुक्रबार

अमेरिका,३ माघ- अमेरिकाका १७ वर्षीय वुल्फ ककियरलाई अचेल धेरैले सोध्छन्- के भविष्यमा उनले अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने अमेरिकी संस्था नासामा जागिर पाऊलान्? यो कौतुहलता वुल्फलाई पनि छ। भन्छन्, ‘मलाई नासाले काम दिन्छ-दिँदैन भन्ने थाहा छैन। तर मेरो बायोडाटामा यो खोज र नासाबारे उल्लेख हुनु नै राम्रो हो नि,’ उनले भनेका छन्।भर्खरै हाइस्कुल पढ्दै गरेका वुल्फले नासाका लागि त्यस्तो के खोज गरे, जसकारण उनी अहिले चर्चामा छन्?
यसको जवाफ नासाले नै केही दिनअघि विज्ञप्ति जारी गरेर दिएको छ- अन्तरिक्षमा एउटा नयाँ र विशेष प्रकारको ग्रह फेला परेको छ, जुन १७ वर्षीय वुल्फ ककियरले पत्ता लगाएका हुन्।
वुल्फ न्युयोर्क, स्कार्सडेलस्थित स्कुल अफ स्कार्सडेल पढ्छन्। गत वर्ष जुलाइमा आफ्नो गर्मी बिदा पारेर नासामा उनी ‘इन्टर्नसिप’ गरिरहेका थिए। गएको तेस्रो दिनमै उनले नयाँ ग्रह पत्ता लगाए।उनले नासामा दुई महिना इन्टर्नसिप गर्दाको आफ्नो अनुभव बताएका छन्। वुल्फ र उनको खोजका बारेमा आएको जानकारी नासाले विज्ञप्तिमार्फत् पुष्टि गरेको हो।
नासामा उनको काम उच्च प्रविधियुक्त टेलिस्कोपबाट आएका तथ्यांक, विवरण केलाउनु थियो। यो टेलिस्कोपको नाम ‘टेस’ हो जसको काम हाम्रो सौर्यमण्डलबाहिर नयाँ ग्रह खोज्ने हो। नासा प्रधान कार्यालय, वासिङ्टनका एस्ट्रोफिजिक्स डिभिजन डाइरेक्टर पल हर्जका अनुसार टेस अन्तरिक्षमा पृथ्वी आकारका ग्रह पत्ता लगाउन डिजाइन गरिएको हो।

‘म दुइटा ताराको वरपर घुम्ने एउटा विशेष ग्रह खोज्दै थिएँ,’ वुल्फले भनेका छन्। त्यही बेला उनले केही अनौठो चिज देखे। उनले देखेको त्यो अनौठो वस्तु त्यही ग्रह थियो, जुन त्यहाँ भएको आशा गरिएको थियो तर पत्ता लागेको थिएन। ‘मैले नासाका आफ्ना प्रशिक्षकलाई उक्त कुरा देखाएँ। सुरूमा त हामी यकिन थिएनौं। हामीले तारा र ग्रहका तथ्यांक र विवरण केलाएर विश्लेषण गर्‍यौं,’ वुल्फका भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।वुल्फको खोज रोचक थियो। यसको अध्ययनमा अरू वैज्ञानिकहरू समेत सामेल भए। लामो अध्ययन र विश्लेषणपछि उनीहरू यकिन भए- यो ग्रह दुई तारा वरपर घुम्छ। पृथ्वीभन्दा करिब सात गुणा ठूलो यो ग्रह पृथ्वीबाट १३ सय प्रकाश वर्ष टाढा छ।
उनीहरूले यसको नाम पनि राखे, ‘टिओआइ १३३८ बी’।नाम अप्ठ्यारो भए पनि यसमा नासाका वैज्ञानिकहरूले आफूसँग कुनै सुझाव नमागेको वुल्फले बताएका छन्।
‘म ग्रहको नाम राख्ने प्रक्रियामा थिइनँ। मेरो दाइ यसको नाम ‘वुल्फटोपिया’ राखौं भन्दै थियो। तर मलाई टिओआइ १३३८ बी पनि ठीकै लागेको छ,’ आफ्नो नाम जोडेर ग्रहको नामकरण गर्न दाइले चाहेको उनले बताए।
‘टिओआइ १३३८ बी’ अरू सामान्य ग्रहभन्दा फरक छ। ‘पिक्टर’ मण्डलमा फेला परेको दुई तारा वरपर घुम्ने यो पहिलो ग्रह हो।
नासाद्वारा जारी गरिएको वुल्फले पत्ता लगाएको ग्रह ‘टिओआइ १३३८ बी’ को तस्बिर।
वुल्फ हलिउड फिल्म ‘स्टार वार्स’ का फ्यान हुन्। ‘स्टार वार्स’ हेरेकाहरूलाई थाहै होला, ल्युक स्काइवाकर पात्रको घर ‘ट्याटुइन’ भन्ने ग्रहमा हुन्छ। यो ग्रह पनि दुई तारा घुम्ने हुन्छ।
यो ग्रहको विशेषता अब वास्तविक भएको छ।
‘अहिले पत्ता लागेको ग्रह ट्याटुइन जस्तै छ नि,’ उनले उत्साहित हुँदै सुनाए, ‘त्यो ग्रहमा दुइटा सूर्यास्त हुन्छ।’फिल्मको ग्रह ‘ट्याटुइन’ मा मान्छे बस्न मिले पनि वुल्फले पत्ता लगाएको ग्रह ‘टिओआइ १३३८ बी’मा मिल्दैन। यो ग्रह दुई तारानजिक भएकाले अति नै तातो हुने अनुमान वैज्ञानिकहरूको छ। वुल्फ त अझ यहाँ ठोस अवस्था नै नभएको आकलन गर्छन्।

हुन त, नासाले अहिलेसम्म विभिन्न टेलिस्कोपबाट दुई तारा घुम्ने करिब एक दर्जन ग्रह पत्ता लगाइसकेको छ। तर ‘टेस’ टेलिस्कोपका लागि यस्तो खोज पहिलो हो। टेसले नयाँ ग्रह खोज्ने अभियानमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास नासाको छ। त्यसैले टेसका लागि यो खोज एकदमै महत्वपूर्ण रहेका नासाको विज्ञप्तिमा उल्लेख छ।

वुल्फ आफ्ना लागि पनि यो खोज एकदमै रोचक र महत्वपूर्ण भएको बताउँछन्। इन्टर्नसिप गर्न गएका उनले यति ठूलो खोज गरेपछि उनी निकै उत्साहित छन्। आफ्नो काम देखेर नासा पनि प्रभावित भएको उनको भनाइ छ।
‘नासामा मेरा प्रशिक्षक एकदमै सहयोगी र उत्साहित हुनुहुन्थ्यो। यो ग्रहले यति धेरै ध्यान खिचेकाले नासा नै अचम्म परेको होला,’ उनले भने।
वुल्फको पक्कै पनि अन्तरिक्ष सम्बन्धी काममा राम्रो भविष्य छ। यो ग्रह पत्ता लगाएर वुल्फ आफ्नो स्कुल फर्किसके। हाइस्कुल सकेर उनी विश्वविद्यालय भर्ना हुन चाहन्छन्।
‘म भौतिक र खगोलशास्त्र पढ्न चाहन्छु,’ उनले आफ्नो योजना सुनाए, ‘त्यसपछि अन्तरिक्ष अनुसन्धान क्षेत्रमा काम गर्नेछु।’नासामा सपनाजस्तो क्षण अनुभव गरेका वुल्फको उत्साह विस्तारै मत्थर हुँदैछ। तर उनका साथीहरूमाझ हल्का ‘रवाफ’ भने बाँकी छ।
‘चार दिनयता म बधाइ खाएको खायै छु। जीन्दगीमै मैले यति बधाइ पाएको थिइनँ होला। सबै जना एकदमै उत्साहित छन्। यो वास्तवमै अलौकिक अनुभव रह्यो,’ वुल्फ दंग पर्दै सुनाउँछन्।
अचेल वुल्फ नासाको ज्याकेट लगाएर घुम्छन्, भित्र ‘स्टार वार्स’को टिसर्ट। ज्याकेट उनलाई नासाले उपहार दिएको भने होइन। केही छुटसाथ नासाका कर्मचारीहरूका लागि खोलिएको पसलमा किनेका हुन्। पैसा हालेअनुसार यो ज्याकेट राम्रो भएको उनी बताउँछन्।नासामा जागिर पाऊन् वा नपाऊन्, वुल्फको किशोरवय मन नासाको ज्याकेट लगाउन पाउँदा पनि दंग छ।

(द न्युयोर्क टाइम्स, बिबिसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->