पोखरा/विश्वभरका प्रविधि उद्यमी, डिजिटल नोमाड तथा रिमोट वर्कमा आबद्ध अन्तर्राष्ट्रिय पेशाकर्मीको जमघट पोखरामा हुने भएको छ । नोमाड बेसक्याम्प नेपाल २०२६ आगामी सेप्टेम्बर १ देखि ७ सम्म पोखरामा आयोजना हुने भएको हो ।
कार्यक्रममा ३० भन्दा बढी देशका ३ सयभन्दा बढी अन्तर्राष्ट्रिय संस्थापक, प्रविधि नवप्रवर्तक, डिजिटल नोमाड तथा सिर्जनाकर्मी सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सात दिने कार्यक्रममा प्रविधि कार्यशाला, एआई तथा भेन्चरसम्बन्धी छलफल, अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल निर्माण तथा सांस्कृतिक गतिविधि समेटिनेछन् ।
कार्यक्रममार्फत् नेपालका स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने उद्देश्यसमेत रहेको नोमाड बेसक्याम्पका संस्थापक ड्यानी फ्लडले सुनाए । नेपालमा प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र उदीयमान प्रतिभा भएकाले विश्वकै आकर्षक रिमोट वर्क हब बन्न सक्ने ड्यानीले बताए । नेपाललाई केवल पदयात्राको गन्तव्य नभई काम गर्ने आधार र दोस्रो घरका रूपमा चिनाउने उद्देश्य रहेको उनको भनाइ छ ।
‘पोखरामा विदेशी लेखक आएर कविता समेत लेखेका छन् । यो पर्यटकीय क्षेत्रमा धेरै पर्यटक आएका छन् । हामीले अहिले आइटी पर्यटक ल्याउन खोजेका हौं । यसले पोखराको पर्यटन प्रबद्र्धनमा ठूलो भूमिका खेल्ने हामीले विश्वास लिएका छौं’, ड्यानीले भने, ‘आइटीमा काम गर्नेहरुलाई बढी मानसिक थकान हुन्छ, पोखरा जस्तो प्राकृतिक सहरमा बसेर उनीहरुले आफ्नो काम गर्दा थेरापी जस्तै पनि हुन्छ ।’
कार्यक्रममा जापानी लेखक केन होन्डा, सगरमाथा आरोही वक्ता मुस्तफा सलामेह, नेतृत्व विशेषज्ञ दीपशिखा यादव लगायत ३० भन्दा बढी वक्ता र २ सयभन्दा बढी उद्यमी तथा संस्थापक सहभागी हुनेछन् । कर्पोरेट क्षेत्रको सहयोगमा स्थानीय विद्यार्थी तथा उद्यमशील युवाका लागि छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।





