पोखरा,९ माघ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाकोलागि प्रेस जगतको भूमिका महत्वपूर्ण रहने बताएका छन । प्रेस संगठन नेपाल गण्डकी प्रदेश समितिको सफत ग्रहण कार्यक्रममा बोल्दै श्रेष्ठले लोकतन्त्र स्थापनाका लागि पत्रकारको अतुलनीय भूमिका रहेको उल्लेख गर्दै यसको संरक्षणकालागि थप भूमिका रहने बताएका हुन । सामाजिक, आर्थिक रूपान्तरको लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भएकोले जिम्मेवारी भएर काम गर्न श्रेष्ठले आग्रह गरे ।सामाजिक न्यायसहितको समाजवाद स्थापना गर्ने सरकार र पार्टीको लक्ष्यलाई सफल पार्नपनि पत्रकारको सहयोग अपरिहार्य रहेको उनको भनाई थियो । ‘राजनीतिक परिवर्तन बाट प्राप्त उपलब्धिलाई आर्थिक सामजिक क्षेत्रमा विस्तार गर्दै सामाजिक न्याय सहितको समृद्ध मुलुक बनाउने र समाजवाद को लक्ष्य हासिल गर्नु हाम्रो उदेश्य हो ।’ पत्रकारले आफ्नो सीप र क्षमता बिस्तार गर्दै लोकतन्त्रको पक्षमा कलम चलाउनु पर्नेमा प्रबक्ता श्रेष्ठले जोड दिए । पत्रकारले पत्रकारको भूमिकामा रहेर काम गर्न आग्रह गर्दै उनले पर्चाकार नबन्न आग्रह गरे । ठोस बस्तुको ठोस मूल्यांकन गरेर समग्र विश्व र नेपाली समाजको विशेषताको विश्लेषण गरेर पत्रकारले कलम चलाउनु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो । ब्यक्ति विशेषको पछि लागेर गुणगान गाउने प्रबृति पत्रकारले अन्त्य गर्न श्रेष्ठले आग्रह गरे । पार्टी एकता प्रक्रिया सकिसकेकोले अब पार्टी र सरकार संबिधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई पूरा गर्नतर्फ अग्रसर हुने उनले बताएका थिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पार्टीका गण्डकी प्रदेश इन्चार्ज पृथ्वसुब्बा पार्टीमा गुट उपगुट तथा व्यक्ति विशेषको पछि लाग्ने प्रवृतिको अन्त्य नभए संगठन बलियो नहुने भन्दै त्यो परिपाटी त्याग्न आग्रह गरे । ब्यक्तिको निजी विचारको पछि नलागि सबैले पार्टीको मार्गदर्शन सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नु पर्नेमा उनको जोड थियो । गुरुङले नेकपा र नेकपा नेतृत्वको सरकार दूरदर्शी र अथक यात्रा गर्ने सक्ने भएकोले आफूहरुले लिएको लक्ष्य हासिल गरेर नेपाली जनतालाई परिवर्तनको महसूस गराउने दावी गरे । कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे , नेकपा प्रचार विभागका उप प्रमुख सूर्य थापा ,प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहाल लगायतले बोलेका थिए ।
कार्यक्रममा प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालले गण्डकी प्रदेश समितिका सदस्यलाई पद तथा गोपनीयताको सफत गराएका थिए । प्रदेश समिति ८१ सदस्यीय रहेको छ । समितिको गणेश पाण्डे इन्चार्च ,रामकृष्ण शर्मा संयोजक र त्रिभुवन पौडेल सहसंयोजक रहेका छन ।





