पोखरा, २५ माघ – कास्कीमा पनि चितुवा आतंक बढ्न थालेको छ । चितुवाको सिकारमा पर्ने सबै बालबालिका मात्र रहेका छन । चितुवाले तनहुँमा ७ जना बालबालिकाको ज्यान लिएको छ भने कास्कीमा चितुवा देखा परेको एकदिन बित्न नपाउँदै एक बालिकाको ज्यान गएको छ ।
पोखरा महानगपालिका–३२ कोठेगाउँकी ७ वर्षीया पूजा विकको चितुवाको आक्रमणबाट ज्यान गएको छ । विहीबार बेलुका साथीहरुसँग खेलेर घर फर्कने क्रममा छिमेकीको घरनजिकै चितुवाले विकको ज्यान लिएको हो ।
विहीबार साँझ साथीसँगै खेल्दैगर्दा पूजालाई आमाले घरमा खाना खान बोलाइन । घरमा बोलाएको केही समयमा विक आफ्नो घरतर्फ हिँड्नि तर खाना खान घर हिडेकी पूजा चितुवाको खाना हुन पुगिन । पुजालाई बीचबाटोमा नै चितुवाले आक्रमण ग¥यो तर गाउँले कसैलेपनि कुनै मेसो पाएनन् । बेलुकासम्म घरमा नपुगेपछि स्थानीयले खोज्ने क्रममा उनको घरमा जाने बाटो नजिकै चप्पल उल्टो र सुल्टो अवस्थामा देखेपछि घरमुनिको जंगलमा खोज्नजाने क्रममा रगत देखिएपछि सोहि दिशातर्फ जाँदा नजिकै पूजाको शव भेटियो । स्थानीयले विकलाई चितुवाले खाएको बताए ।
स्थानीय दुर्गा विकले उक्त गाउँ वरपर पहिलादेखि नै चितुवा कराउँदै हिँड्ने गरेको बताइन् ।‘यस्तो घटना होला भनेर सोचेका थिएनौँ’, उनले भनिन्,‘यो घटनाले गाउँमा नै त्रास छाएको छ, हामीले तनहुँको खबर सुनेका थियाँ,ै त्यही खबर हाम्रै आगनमा हुन पुग्यो ।’ पछिल्लो समयमा जंगल बढ्दै गएको कारण बननजिक घर भएकालाई डर बढ्दै गएको उनको भनाइ छ । गाउँमा ढुक्कसँग बस्नको लागि सरकारले नै चितुवाको नियन्त्रण गर्नुपर्ने दुर्गाले बताइन् । यस घटनाबाट साँझ परेपछि घरबाट बाहिर निस्कन नै डर भएको दुर्गाको भनाई छ ।
‘गाउँका बालकालिका जंगलको बाटो भएर न विद्यालय जाने गर्छन्’, स्थानीय डिल्लीराम बिक भन्छन्,‘विद्यालय पनि जंगलको बीचमा छ ।’ कोठेगाउँमा ३५ जना भन्दा बढी रहेका छन् । दिनभर बाबुआमा काम गर्न घरबाट बाहिर निस्केको समयमा र बालबालिका विद्यालय आउनेजाने क्रममा पनि असुरक्षित भएको उनले बताए । पछिल्लो समयमा गाउँ नजिकै रहेको जंगल बढेको कारण चितुवाले गाउँका बालबालिकामाथि आक्रमण भएको उनले बताए । डिभिजन बन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठ पीडित परिवारको लागि ५० हजार रुपैयाँ शुक्रबार नै क्षतिपुर्ती दिने बताए । उनले मुचुल्का गरेपछि प्रकृयामा गएर पीडितलाई थप ९ लाख ५० हजार रुपैयाँ उपल्बध गराउने बताए । यस्ता घटनाको लागि सचेत गराउनको लागि विभिन्न विद्यालयमा सचेतना गराउने कार्याक्रम संचालन गर्ने, एफएम रेडीयोबाट सचेतनामूलक सूचना प्रशारण गर्ने गर्ने उनले बताए । अन्य समयमा भन्दा साँझको समयमा चितुवाले बढी आक्रमण गरेको पाइएको श्रेष्ठले सुनाए । बस्ती नजिकैको वनमा धेरै झाडी भएको कारण चितुवालाई लुक्न सजिलो भएको उनको भनाइ छ । झाडी फाडानी गर्नको लागि पहल सुरु गर्ने बताए । चितुवा नियन्त्रणाको लािग तनहुँमा भएको काम कास्कीमा गरिने श्रेष्ठले सुनाए ।
मान्छेले जिस्काउने, धपाउन खोज्ने गर्दा झनै आक्रमण गर्न सक्ने श्रेष्ठको भनाइ छ । घर पालुवा जनावरको सिकारको लागि मानिसबस्ती नजिक चितुवा बस्ने उनले बताए । कास्कीमा मानिसको आक्रमण गर्ने चितुवा पनि तनहुँबाट आएको हुनसक्ने श्रेष्ठको अनुमान छ । एक दिनमा कम्तीमा ४÷५ किलोमिटर हिँड्ने भएकाले जोडिएको जिल्लामा चितुवा आउजाउ हुनु समान्य रहेको श्रेष्ठले बताए ।
तनहुँमा हाल सम्म ७ बालबालिको ज्यान गयो
तनहुँमा पनि चितुवाले अहिलेसम्म १३ जनालाई आक्रमण गरेको छ । हालसम्म तनहुँमा चितुवाको आक्रमणबाट ७ जनाको ज्यान गएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । ०७४ सालको फागुन १३ गते भानु नगरपालिकामा–३, दोरदोरटारमा ७ वर्षीय विशाल श्रेष्ठ चितुवाको सिकार हुन पुगे । चितुवाको आक्रमणबाट उनको ज्यान गयो । ०७५ सालको कात्तिक २९ गते भानु नगरपालिका ४ चिसापानीमा ४ वर्षीय अस्मिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका– २, ढलेबहरकी १० वर्षीय अमृत गुरुङले ज्यान गुमाए ।
०७६ सालमा जेठ २४ गते भानु नगरपालिका–२, भकुन्थोककी ९ वर्षीय पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका –१, जामुनैगैह्राका ४ वर्षीय आशिक बानिया, कात्तिक ११ गते भानु नगरपालिका –२, फुस्रेटारका ७ वषीय ऋतिक रोका, पुस २० गते आँबुखैरेनी गाउँपालिका –१, रानागाउँ ७ वर्षीय पुनम सिंजालीमगर र माघ १३ गते बन्दिपुर गाउँपालिका –४, लोहरीपाखाका १० वर्षीय इश्क सुनारको चितुवाको आक्रमण बाट नै ज्यान गएको छ ।
तनहुँमा हालसम्म चितुवाको आक्रमणबाट ५ जना घाइते भएका छन् । २०७५ सालमा भानु नगरपालिका ११ सिख्राको जंगलमा ४८ वर्षीय भिमबहादुर तामाङ, मंसिर ७ गते भानु नगरपालिका २ थप्रेडाँडाका संजय नेपालीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो । २०७६ सालमा साउन १२ गते भानु नगरपालिका–२ ठूलोबँगैचाका ७ वर्षीय हेमराज सुनार, भदौ १२ गते भानु नगरपालिका–२। दाहालटारका ५ वर्षीय शुलभ दाहाल र कात्तिक २ गते भानु नगरपालिका–२, तल्लोडिहीकी सोनिया अछामी चितुवाको आक्रमणबाट नै घाइते भएका छन् ।
चितुवाले आफनो बासस्थान समेत सार्दै गएको देखिन्छ । अहिलेसम्मको घटनाक्रमलाई हेर्दा चितुवाले तनहुँ देखि कास्की सम्म लगातार रुपमा आक्रमण गरेको पाइन्छ । भानु नगरपालिका हुदैँ कास्की र तनहुँ सीमासँंग जोडिएको ठाउँसम्म चितुवा आइपुगेको छ ।





