बागलुङ,१३ फागुन – ट्याक्सी व्यवसायीहरुले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन् । धौलागिरी अञ्चल यातायात सेवा प्रालिमा आबद्ध भएका ट्याक्सी व्यवसायी र मजदुरले रकम संकलन गरेर क्यान्सर पिडित हिमालय थापा मगरलाई सहयोग गरेका हुन् ।
सोमबार प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष बलराम सापकोटा सहितका व्यवसायीले थापामगरलाई ८१ हजार ९ सय रुपैयाँ रकम हस्तान्तरण गरे । उक्त अबसरमा सापकोटाले व्यवसायीलाई परेको समस्यामा सानो सहयोग जुटाएको बताए । ‘जो कोहीलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने नेपाली परंपरालाई निरन्तरता दिन यो सहयोग गरेका हौं’ सापकोटाले भने, ‘सहयोगका लागि अभियान चलाएर थापालाई थप सहयोग जुटाउन पहल गर्छौ ।’ सामाजिक संजाल मार्फत पनि सहयोग जुटाउने उनले बताए ।
४८ बािर्षय थापा मगर २०६० सालदेखि बागलुङमा बसेर ट्याक्सी लगायतको ड्राइभिङ पेशामा आबद्ध छन् । उनको पुख्र्यौली घर हेटौडा उपमहानगर पालिका वडा नं. २ हो । तर उनी बर्षौदेखि बागलुङमै बस्दै आएका छन् । दुइ बर्ष अघि बिरामी भएपछि उनले जाँच गर्दा क्यान्सर भएको पत्ता लागेको थियो । झण्डै ५ लाख खर्चेर मुखको क्यान्सरको अपरेशन गरेका थापा मगरको बिरामी फेरी बल्झेको हो । अहिले फेरी समस्या आएपछि उपचारकालागि भरतपुर क्यान्सर अस्पताल जाने तयारी गरेका छन् । उनको उपचारमा कति खर्च हुने भन्ने यकिन भएको छैन । तर दैनिक मजदुरी गरेर कमाउनु पर्ने भएकोले उपचार खर्च एक्लै धान्न नसक्ने उनले बताए ।
थापाकी श्रीमती यमुनाले बुटिक भर्ने पेशा गर्दै आएकी छिन् । उनका दुइ छोरा छन् । १४ बर्ष र ११ बर्षका छोरा पढाउने, हुर्काउने चुनौतीबाट उनी उपचारमा पनि खटिनुपर्ने बाध्यता छ । उनको उपचारका लागि सबैलाई साथ दिन अनुरोध समेत गरिएको यातायात प्रालिका प्रबन्धक अनुप खड्काले बताए । ट्याक्सी व्यवसायीहरु २०६८ सालदेखि संगठित भएर व्यवसाय संचालन गर्दै आएका छन् । हाल धौलागिरी यातायात सेवा प्रालि अन्र्तगत ट्याक्सी व्यवसायमा ८५ जना व्यवसायी सदस्य छन् । बागलुङ बजारदेखि कुश्मा, बेनी, गलकोट, बुर्तिवाङ, कुश्मीसेरा, पञ्चकोट र पोखरा सम्म ट्याक्सी मार्फत नियमित सेवा दिंदै आएका छन् ।





