पोखरा,१६ फागुन -नेपाली राजनीतिमा आशालाग्दा नेता मानिन्थे रवीन्द्र । विद्यार्थी राजनीतिबाट उदाएका रवीन्द्र ताप्लेजुङको हेलिकप्टर दुर्घटनामापरि अस्ताएका थिए ।
गएको वर्ष फागुन १५ मा हेलिकप्टर दुर्घटनामा परि दिवंगत बनेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पोखरामा पहिलो स्मृति दिवस मनाइएको छ । ‘रवीन्द्र स्मृति प्रष्ठिान’द्वारा पोखरामा स्मृति समारोहको आयोजना गरिएको हो ।
समारोहमा स्वर्गीय रवीन्द्रका नजिकका मित्र तथा नेपाल सरकारका नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उनकी धर्म पत्नी विद्या भट्टराई लगायत रवीन्द्रलाई माया गर्ने शुभेच्छुकहरुको उपस्थिति थियो । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उक्त समारोहमा उपस्थित हुने कार्यतालिका यसअघि नै तय भई सकेको थियो ।
तर, व्यस्त समयको कारण उनी उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिए । भिडियो कन्फ्रेन्स मार्फत रवीन्द्रको स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमत्री ओलीले रवीन्द्र अत्यन्तै मृदुभाषी, मिलनसार, योग्य, सक्षम र जनताको प्रिय नेता रहेको बताए । ‘आजकै दिनमा हामीले उहाँलाई गुमाएका थियौं । उहाँलाई श्रद्धाञ्जली दिन चाहन्छु,’ उनले भने ।
रवीन्द्र अधिकारी आफ्नो कार्यकालमा सफल मन्त्री रहेको भन्दै उनले रवीन्द्रको कार्यकालको तारिफ गरे । ‘उहाँले छोटो समयमा उल्लेख्य काम गर्नु भएको छ । जनप्रतिनिधिको हैसियतले योग्य, बुबा, छोरा, पति, मित्रका रुपमा, विभिन्न भुमिकामा उहाँ सफल हुनुहुनुहुन्थ्यो । कहीँ खोट थिएन,’ उनले भने ।
कामप्रति निष्ठाका साथ लगनशील भएर लाग्ने व्यक्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार संक्रमणकालमा रहेको बेला सरकारलाई लोकप्रिय र निष्ठावान बनाउन रवीन्द्रको महत्वपूर्ण योगदान रहेको बताए । ‘सरकारलाई लोकप्रिय बनाउँन उहाँको एकदम सकारात्मक दृस्टिकोण रह्यो । महत्वपूर्ण योगदान रह्यो,’ उनले भने ।
‘समृद्ध नेपाल र सुखी नेपाली’का लागि रवीन्द्र अहोरात्र खटिएको बताउँदै ओलीले ताप्लेजुङमा नयाँ एअरपोर्ट बनाउँने योजना बनाएर ताप्लेजुङ एअरपोर्ट विकासकै क्रममा उनको निधन भएको बताए । रवीन्द्र सँधै जनताका इच्छा आकांक्षामा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले उनको मेहेनतबाट हामीले पनि शिक्षा लिनु पर्ने बताए । ‘पार्टीलाई सही दिशामा लैजान हामीले उहाँबाट प्रेरणा लिनु पर्छ,’ उनले भने । दुर्घटनामा परि ज्यान गुमाउनु भएका परिवारको पिडामा आफू पनि सामेल रहेको उनले सुनाए ।
पोखरा सभागृहमा उनको स्मृति दिवसको आयोजना गरिएको थियो । रवीन्द्रका समकालिन मित्र तथा पर्यटन मन्त्री योगेश भट्टराईले पोडियममा उभिएपछि हलमा उभिने बित्तिकै रवीन्द्रको आवाज गुञ्जिए जस्तो लाग्ने बताए । ‘हामीले यही हलमा उभिएर देश बनाउँने धेरै कुरा ग¥यौं । जति बेला म यो हलमा आउँछु रवीन्द्र जि को आवाज गुञ्जि रहेको जस्तो लाग्छ,’ उनले भने । हलको कुना कुनामा रवीन्द्रका स्मृति ताजै भए जस्तो लाग्ने गरेको उनले सुनाए । रवीन्द्रसँगको चिनजानदेखि उनको राजनीतिक जीवनका आरोह अवरोहका बारेमा उनले बोलेका थिए ।





