पर्वत, २३ फागुन – स्थानीय तहको निर्वाचन भएको तीन वर्ष हुनै लाग्दा कुस्मा नगरपालिकामा बल्ल न्यायिक समिति गठन गरिएको छ । संविधानमा नै न्यायिक समिति गठन हुने प्रावधान रहेको भए पनि न्यायिक कुस्मा नगरपालिकामा गठन हुन सकेको थिएन । नगरपालिकाको पाँचौँ नगर सभाले विभिन्न ऐनहरू समेत पारित गर्दै न्यायिक समिति पनि गठन गरेको हो ।
नगर उपप्रमुख सीता काफ्ले लामिछानेको संयोजकत्वमा रहेको समितिका सदस्यहरूमा देवेन्द्रबहादुर नेपाली र तेजप्रसाद पाध्या रहेका छन् । राजनीतिक विवाद र किचलोका कारण तीन वर्षसम्म गठन हुन नसकेको न्यायिक समिति पाँचौँ नगर सभाले बहुमतले पारित गरेको हो ।
नगर प्रमुख रामचन्द्र जोशीले पालिकामा गठन हुन नसकेका समितिहरूले पूर्णता पाएकोमा खुसी व्यक्त गर्दै सबै सदस्यहरूमा रहेको एकताको भावनालाई कदर गर्दै नगर कार्यपालिका अघि बढ्ने प्रतिवद्वता व्यक्त गरेका छन् । कुस्मा नगरपालिकाले संविधान बमोजिम गठन गर्नुपर्ने समिति गठन गरी पूर्णता पाएकाले अव काम गर्न सजिलो हुनुका साथै नागरिकहरूका बिचमा रहेका सामाजिक वा घरेलु द्वन्द्वलाई मेलमिलापको बाटोबाट समाधान गर्न सजिलो हुने न्यायिक समिति संयोजक लामिछानेले बताइन् ।





