पोखरा, ७ चैत – कोरोना भाइरसको संन्त्रासकै बीच पनि कास्कीमा दादुरा–रुबेला खोप अभियान नरोकिने भएको छ । कास्कीमा दादुरा–रुबेला खोप अभियान यही चैत १० देखि २२ गतेसम्म संचालन हुँदैछ । ९ वर्षदेखि ५वर्षमुनिका बालबालिकाहरुलाई दादुरा र रुबेला संक्रमणबाट बचाउन दिइने खोप अभियानको सबै तयारी पूरा भएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
उनका अनुसार गण्डकी प्रदेश र कास्कीमा १० गतेबाट सुरु हुने यो अभियानअन्तर्गत चैत १० देखि १९ गतेसम्म महानगरका गाभिएका पुराना गाविसहरुमा खोप संचालन गरिनेछ भने चैत २० देखि २२ गतेसम्म पुरानो उपमहानगरका साविक वडाहरुमा खोप संचालन हुनेछ । उनका अनुसार अभियानको लागि स्वास्थ्यकर्मीहरुलाई तालीमसहित तयारी अवस्थामा राखिएको छ । उनले जन्मेर ९ महिना पुगेका सबै बालबालिकाहरुलाई खोप अभियानमा सरिक बनाउन अभिभावकहरुसँग आग्रह पनि गरे । दादुरा–रुबेला खोप जन्मेको ९ महिना र दोस्रो मात्रा जन्मेको १५ महिना पुगेपछि लगाइन्छट । दुईपटक लगाइने यो खोप कुनै कारणवश लगाउन छुटेको भए ५ वर्षभित्र अन्य समयमा पनि लगाउन सकिन्छ । करिब ५० हजार २ सय ६० जना बालबालिकालाई खोपको दायरामा ल्याउने लक्ष्य रहेको उनले सुनाए । यसको लागि ४ सय २० वटा खोपकेन्द्र र ६ सय ४७ जना स्वास्थ्य कार्यकर्ताको व्यवस्था गरिएको छ ।
पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बालबालिकाहरुलाई दादुरा–रुबेलाको संक्रमणबाट बचाउने भएकाले खोप अनिवार्य नै छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ रामचन्द्र बास्तोलाले मान्यताप्राप्त खोप दक्ष स्वास्थ्यर्मीबाट लगाइने जानकारी दिए । पोखरा महानगरपालिकाका प्रशासकिय महाशाखा प्रमुख ध्रुबकुमार पोखरेलले बालबालिकालाई खोपबाट बञ्चित गराउन नहुने धारणा राखे ।
दादुरा–रुवेला रोग लागेमा आँखाको अन्धोपन, निमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मिने, बहिरोपन, मुटुमा संक्रमणलगायतका समस्या देखिन सक्छन् । बाल मृत्युदर घटाउन खोप प्रभावकारी देखिँदै आएको छ । नेपालको जनसांख्यिक सर्वेक्षण २०१६ का अनुसार बालबालिकामध्ये करिब ७८ प्रतिशतले सबैखाले खोप पाएका छन् भने २१ प्रतिशतको हकमा कुनैकुनै खोपको मात्रा छुटेको छ । एक प्रतिशत बालबालिका भने खोपको पहुँचबाट बाहिर छन् । नेपालका हाल बालबालिकालाई १२ वटा खोप दिइँदै आइएको छ । वैशाखदेखि चिसोले हुने झाडापखाला रोक्ने भ्याक्सिन दिने तयारी पनि गरिएको दादुरा–रुबेला अभियानका महानगर फोकलपर्सन हरिलाल आचार्यले जानकारी दिए । नेपालमा २०३४ सालमा बिफर उन्मूलनपछि नै खोप दिन सुरु गरिएको हो । दादुरा–रुबेला खोप अभियानअन्तर्गत २०१९ सम्म सबै बालबालिकाहरुलाई यो संक्रमणबाट मुक्त गर्ने लक्ष्य राखिए पनि पूरा नभएपछि समयावधि थप गरिएको हो ।





