बागलुङ, १२ चैत – काठेखोला गाउँपालिकाले दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ । कोरोना संक्रमणलाई फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका परिवारको तथ्यांक संकलन गरी बुधबार राहत सहयोग प्रदान गरेको हो ।
बुधबार पहिलो चरणमा वडा नम्बर २ को भिमपोखराका १३ जनालाई अत्यावश्यक दैनिक उपभोग्य सामाग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए । उनीहरुलाई तत्कालको लागि २५ केजी चामल, २ केजी नुन र ३ केजी दाल सहयोग गरिएको छ । वडा कार्यालयको तथ्यांकअनुसार तत्काल सहयोग गर्नुपर्ने वडा नं. १ का १५ जना, वडा नम्बर ४ का १५ जना रहेका छन् । वडा नम्बर ७ र ८ बाट धेरै संख्या आएकोले छानविनपछि राहत सहयोग प्रदान गरिने थापाले बताए ।





