आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘तपाईंको सरकार छ, भोकले कोही मर्नु पर्दैन’

‘तपाईंको सरकार छ, भोकले कोही मर्नु पर्दैन’

मजदुर र विपन्नप्रति स्थानीय तहको चासो


  • ढोरपाटन संबाददाता
  • चैत्र १५ २०७६, शनिबार

बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशनै लकडाउन गरेपछि सबैभन्दा बढी मारमा परेको मजदुर र विपन्न वर्गको सारथी बन्न स्थानीय तहले चासो देखाएका छन् । हुँदा खाने वर्गको पक्षमा स्थानीय सरकारको अनुभूती दिलाउन लगत संकलन गरी खाद्यान्नको जोहो गर्न स्थानीय तहले सक्रियता बढाएका छन् ।
बागलुङ, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाले मजदुर र विपन्न नागरिक भोकै बस्न नपरोस् भन्दै भोजनको व्यवस्थासंग खाद्यान्न उपलब्ध गराउने कार्यक्रम ल्याएका छन् । ‘लकडाउनमा काम गर्न नपाएर कोही भोकै मर्नु पर्दैन्’ जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले भने ‘ढुक्क हुनुहोस्, भोक र शोकमा साथ दिने तपाईंको सरकार छ ।’ ‘महामारीको रोकथामका लागि भैरहेको प्रयासमा हातेमालो गर्ने जुनसुकै नागरिकलाई पर्ने असजिलोमा सारथी बन्नु स्थानीय सरकारको दायित्व हो’ पौडेलले भने ।
जैमिनी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका र अति विपन्न परिवारलाई बिहानबेलुकीको छाक नटरे वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । वडा अध्यक्षहरुले उनीहरुको अवस्था पहिचान गरि नगरपालिकाको तर्फबाट दैनिक खर्च चलाउन नगद तथा खाद्यान्न उपलव्ध गराउने नगरप्रमुख पौडेलले बताए ।
बागलुङ नगरको दिवा खाना
बागलुङ नगरपालिकाले बेसहारा नागरिकलाई दिवा खानाको ब्यवस्था गर्ने भएको छ । लकडाउनका कारण रोजीरोटी गुमेर हातमुख जोर्न समस्या भएकाहरुलाई शनिबारदेखि दिवा खाना खुवाउने ब्यवस्था मिलाईएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । तिरुपती बालाजीधाम शालिग्राम संग्राहलयको ब्यवस्थापनमा धौलागिरी बहुमुखी क्याम्पसको प्रांगणमा गरिब र अति बिपन्न नागरिकलाई दिवा खाना खुवाइने छ । नगरपालिकाले घनाबस्ती भएको बजारमा किटाणु मार्ने औषधी छर्किन शुरु गरिसकेको छ । नगरपालिकाले कोरोना रोकथामका लागि १५ लाखको राहत तथा उद्दार कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।
अलपत्र मजदुरलाई निशुल्क खाना
लकडाउन लम्बिदै गर्दा अलपत्र परेका १४ मजदुरलाई उद्योग वाणिज्य संघ बागलुङले निुशल्क खाना खाने व्यवस्था गर्ने भएको छ । संघले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताए । बागुलङ नगरखानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदुर जाजरकोटका हुन् । उनीहरुले घरजाने वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनासंग आग्रह गरेका छन् । जयमाता कन्काइ जेबी निर्माण कम्पनीका साइट इन्चार्ज गौतम भुसालले भने उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाउने बताए ।
लगत संकलन गर्दै काठेखोला गाउँपालिका
लकडाउनको समयमा खाद्यान्न उपलव्ध गराउने घोषणा गरेको काठेखोला गाउँपालिकाले वडा तहबाट लगत संकलनको काम सकेको छ । गाउँपालिकाका आठवटै वडामा रहेका विपन्न र मजदुरहरुको लगत संकलन भैसकेकोले राहत बितरणको काम अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए । गाउँपालिकाले अति विपन्न र छाक टार्नै मुस्किल भएका २० जनाभन्दा बढी नहुने गरी प्रत्येक वडामा एक बोरा चामल र तीन किलोग्राम दाल दिने बिधि बनाएको छ । जनसंख्या धेरै भएका वडामा भने तीस जनासम्मले सामग्री पाउने छन् । वडा नं २ भीमापोखराका १३ परिवारलाई सामग्री वितरण गरिसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
खाद्यान्न जुटाउँदै जिसस म्याग्दी
जिल्ला समन्वय समिति म्याग्दीले विपन्न र मजदुरलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिससको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा विपन्नलाई खाद्यान्नको व्यवस्था मिलाउने निर्णय गरेको हो । बेनी नगरपालिका, धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विपन्नको खाद्यान्न ब्यवस्थापनका लागि जिससको कोषबाट दुई÷दुई लाख रुपैयाँका दरले एकमुष्ठ १२ लाख रुपैयाँ बिनियोजन गरेको जिसस प्रमुख देवेन्द्र बहादुर केसीले बताए । विपन्नको खाद्यान्न व्यवस्थापनका लागि यसअघि निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसी र उनका भाई किसान जिसीले एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->