बागलुङ, १५ चैत – कोरोना भाइरसको संक्रमणको आशंकाका बिरामीको चाप बढेपछि धौलागिरी अञ्चल अस्पतालले दैनिक दुइपटक किटनाशक औषधि छर्कन थालेको छ। अस्पताल व्यवस्थापन समितिले बिहान र बेलुकी दुई पटक स्प्रे गरेर सफाइ गरिएको अध्यक्ष केबी राना मगरले बताए। ‘स्वास्थ्यकर्मीहरूकै सल्लाहमा यो काम थालियो,’ रानामगरले भने, ‘स्वास्थ्यकर्मी र अस्पतालका अन्य बिरामीको सुरक्षा समेत गर्न यो काम गरेका हौं।’ अस्पतालले आइसोलेसन वार्ड पनि छुट्याएको छ। वार्डमा एक बिरामी राखिएका थिए। उनको कोरोनाको नेगेटिभ रिपोर्ट आएकोले डिस्चार्ज भएका छन्। क्वारेन्टाइन भने अन्य क्षेत्रमा पनि बनेका छन्। अहिलेसम्म संक्रमणको आशंका भएकाहरू होम क्वारेन्टाइनमै छन्। अस्पतालले गेटमा हेल्थ डेस्क बनाएको छ।
यता, लकडाउनको अवसर पारेर यहाँका अधिकांश मेडिकल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिन थालेसँगै यहाँका मेडिकल सञ्चालकहरूले सामान्य सेवा पनि नदिने गरी बन्द गरेका हुन् । धौलागिरी अञ्चल अस्पताल क्षेत्रका धेरै औषधि पसल बन्द छन् । थोरै पसल मात्र खुला छन् । अत्यावश्यक सेवा अन्तर्गत मेडिकल र निजी अस्पताल पनि पर्छन् । अन्य क्षेत्रका एक दुईवटा पसल मात्र सञ्चालनमा छन्।
अधिकांश पसलले औषधि सकिएकोले बन्द गर्नु परेको बताए। ‘दुई-तीन दिन बन्द हुन नपाउँदै सामान सकिने कुरा छैन,’ अधिवक्ता राम शर्माले भने,‘संकटको बेला सेवा नदिई बन्द गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’ अन्य समयमा हरेक साता पोखराबाट डाक्टर ल्याएर महंगो शुल्कमा क्लिनिक चलाउने उनीहरूले अहिले पसल बन्द गरेर उपभोक्ता हितविपरीत काम गरेको उनले बताए।
अत्यावश्यक सामान कम भएपनि नियमित बिरामी पनि आउने भएकोले पसल खोल्नै पर्ने प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए। ‘बन्द भएकालाई पनि खोल्न भनेका छौं,’ उनले भने, ‘सामग्री अभाव हुन नदिन झिकाउने क्रम भैरहेको छ।’ नियमित रुघाखोकी र अन्य रोगको औषधि खोज्नेले समेत औषधि किन्न पाउनुपर्ने उनले बताए।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका इन्चार्ज दिनेश जिसीले औषधि पसल बन्द गर्न नहुने बताए। ‘अत्यावश्यक सेवा भएकोले जनताले पाउनै पर्छ,’ उनले भने, ‘नगरपालिकाले आवश्यक सामग्री मगाइरहेको छ।’ आएका सामग्री अञ्चल अस्पतालदेखि स्वास्थ्यचौकीसम्म वितरण भइरहेको उनले बताए।
नेपाली सेनाले समेत सामान ल्याउने काममा सहयोग गरेको उनले बताए। अञ्चल अस्पतालले सामान्य बिरामीले स्वास्थ्यचौकी र नजिकको निजी क्लिनिकबाट सेवा लिन भनेको छ। त्यसैले धेरैले स्थानीय औषधि पसलबाटै स्वास्थ्य सेवा लिइरहेका छन्। ‘मौसमी रुघाखोकी समेत लाग्ने भएकोले त्यसको उपचार अस्पतालमा नभई स्वास्थ्य चौकी तहमै गर्नुपर्छ भनेका छौं,’ अस्पतालका सुपरभाइजर देवप्रकाश घिमिरेले भने।





