पर्वत, १६ चैत – पर्वतको कुस्मामा रहेको गुप्तेश्वर बहूमुखी क्याम्पसमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा दुई जना शंकास्पदहरुलाई भर्ना गरिएको छ । भर्ना गरिएकाहरूमा पर्वतको बिहादी गाउँपालिकाकी ३० बर्सिया महिला र बागलुङ घर भई पर्वत सदरमुकाम कुस्मामा आफन्तकोमा बस्दै आएका ३३ वर्षीय पुरुष रहेका छन् ।
पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार बिरामी महिलामा केही दिन रुघाखोकी र देखि १ सय २ देखि १ सय ३ डिग्री सम्म ज्वरो आइरहेको छ । उनमा कोरोनाको लक्षणसँग मिलेका कारण थप परीक्षणका लागि आइसोलेसनमा राखिएको हो । ती महिलाका श्रीमान् १३ दिन पहिले भारतबाट फर्केका थिए तर उनमा कोरोना सङ्क्रमणको कुनै पनि लक्षणहरू देखा नपरेको बताइएको छ । कहिलेकाहीँ सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिए पनि भाइरस अरूमा सङ्क्रमण हुन सक्ने चिकित्सकहरूको भनाई छ ।
उनमा कोरोना सङ्क्रमण भए नभएको पुष्टि गर्न स्वाव सङ्कलन गरेर परीक्षणको लागि काठमाडौँ पठाउन तयारी अवस्थामा राखिएको भए पनि यातायातको समस्याका कारण पठाउन समस्या भएको डा. देवकोटाले बताए ।
यस्तै सङ्क्रमणको शङ्कामा परेका अर्का व्यक्ति गत चैत ४ गते कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट काठमाडौँ आएकामध्ये बागलुङका एक जना युवा हुन् । उनी डेनमार्कबाट नेपाल आएपछि पर्वतको कुस्मामा आफन्तकोमा बस्दै आएको खुलेको छ । उनलाई आईसोलेसनमा राखिएसँगै उनको स्वाव शुक्रवार नै परीक्षणका लागि पठाइसकिएकोमा रिपोर्ट आउन बाँकी रहेको छ ।





