सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गण्डकी प्रदेशमै हलचल

गण्डकी प्रदेशमै हलचल


  • ढोरपाटन संबाददाता
  • चैत्र १६ २०७६, आइतबार

पोखरा, १६ चैत – बागलुङ–४, कुँडुलेकी युवतीमा कोरोना संक्रमण देखिएपछि सिंगो गण्डकी प्रदेश नै सशंकित र त्रसित बनेको छ । कतार एयरको क्यूआर ६५२ को उडानबाट आएकी उनीसँगै दुईजनामा कोरोना पुष्टि भएपछि सोही उडानबाट गण्डकीका अन्य जिल्लाका को–को आएका थिए र उनीहरु कहाँ छन् भन्नेबारे खोजबिन पनि थालिएको छ । सोही उडानमा कास्कीका एक युवा पनि आएको र उनी घरमै सेल्फ क्वारेण्टाइनमा बसेको स्रोतले बतायो । स्रोतका अनुसार उनी कहाँ छन् भन्ने जानकारी प्राप्त भइसकेको र उनी पोखरा स्वास्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी अस्पतालको सम्पर्कमा रहेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार उनको स्वाब परीक्षण गरिँदैछ ।
आइतबार उनको स्वाब परीक्षणको तयारी गरिए पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने यो विषयमा अनभिज्ञता प्रकट गरेको छ । यता, सोही उडानबाट बागलुङ, गोर्खा, स्याङ्जा, तनहुँका केही व्यक्तिहरु पनि आएको बताइए पनि आधिकारिक पुष्टि हुन बाँकी छ ।
गण्डकी प्रदेशका केही स्थानीय निकायहरुले विदेशबाट आएका व्यक्तिहरुको नाम संकलन थाले पनि त्यो पूर्ण भएको छैन । कास्कीको रुपा गाउँपालिकाले विदेशबाट आएका २९ जनालाई क्वारेण्टाइनमा राखेको छ । मादी गाउँपालिकाले पनि १० बेडको क्वारेण्टाइन बनाएको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ ले विदेशबाट आएका ४ जनाको पहिचान भएको जनाएको छ । स्याङ्जामा पनि यो अभियान चलाइएको छ । बागलुङमा विदेशबाट भित्रिएकाहरु १३३ जना रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । केही सचेतहरु भने आफै सेल्फ क्वारेण्टाइनमा बसेका छन् । पोखरा महागनरपालिकाले सम्पूर्ण वडाहरुलाई विदेशबाट आएकाहरुको अभिलेख तयार पार्न भनेको छ ।
‘वडाबाट संकलन हुँदैछ, १६ जना क्वारेण्टाइनमा बसेका छन्,भारतबाट आएकाहरुलाई होम क्वारेण्टाइनमा बसेका छन्’, पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले भने,‘पोखराको नदीपुरमा रहेको पदम् नर्सिङ होम्स र सिर्जनाचोकमा भएको लेकसिटी हस्पिटलमा १५० शैयाको क्वारेण्टाइन बनाएका छौँ । ’प्रदेश सरकारले पोखराको मालेपाटनमा बनाएको ४८ सिट क्षमताको क्वारेण्टाइनमा नै शर्माले भनेका १६ जना राखिएको हो ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको आकस्मिक निरीक्षण गरि कोरोना रोकथाममा भइरहेका कामहरुको जानकारी लिएका छन् । उनको साथमा सामाजिक विकासमत्री नरदेवी पुन पनि रहेकी थिइन् । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको महामारी रोक्न हब र स्याटेलाइट अस्पतालहरुसँग चिकित्सक,नर्स,पारामेडिक्स,प्रयोगशाला,प्राविधिकलगायत १० जना सम्मिलित द्रुत प्रतिकार्य टोलिको विवरण संकलन गरि तयारी अवस्थामा राखिएको जानकारी दिए । सो अवसरमा निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले भइरहेका सबै कामको आफैले अनुगमन गरिरहेको जनाउँदै प्रतिकार्य टोलि परिचालन गरिएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->