पोखरा, १६ चैत – पोखराबाट चार्टर्ड विमान र बसबाट विदेशी पर्यटकको उद्धार भइरहँदा केही ट्राभल व्यवसायीहरुले प्रशसनको सवारी पाससहित पर्यटकी नम्बर प्लेट भाडामा भएको सूचना जारी गरेका छन् । अत्यावश्यकीय सामान ढुवानी गर्न प्रशासनबाट दिइने सवारी पाससहित सामाजिक सञ्जालमा राखिएको सूचनामा ‘पास’ पनि भएको र जतिबेला पनि उपलब्ध हुने जानकारीसहित सम्पर्क नम्बर पनि दिइएको छ । यस्ता सूचना जारी भएपछि पर्यटन व्यवसायीहरुबाट विरोध पनि आएको छ । पोखराका पर्यटन व्यवसायी विजय केसीले आफ्नो फेसबुक वालमार्फत यस्तो सूचना जारी भएको जनाउँदै विपदको बेला लुट मच्चाइएको भन्दै आपत्ति पनि जनाएका छन् । उनले सामाजिक संजालमार्फत नै यस्ता पासहरु जफत हुनुपर्ने माग पनि गरेका छन् । उनको मागमा अन्य धेरै पर्यटन व्यवसायीहरुले सहमति पनि जनाएका छन् । गाडीमा धेरै मान्छे हिँड्ने र यदि कुनै व्यक्तिलाई कोरोना संक्रमण भए त्यसले नेपाललाई नै असर गर्ने उनीहरुको आशंका छ ।
यता, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता श्रीनाथ पौडेलले अत्यावश्यक सामान बोक्ने सवारी साधनहरुलाई सवारी पास दिइएको र यसको दुरुपयोग भए कडा कारबाही गर्ने बताए । उनले पर्यटनका गाडीहरुलाई सवारी पास दिइएको स्वीकारे ।
‘ त्यसो गर्न दिएको हैन, यो यस्तो सुविधा हो, जुन अलपत्र भएका व्यक्तिलाई आफ्नो गन्तब्यसम्म पु¥याउन दिइएको हो’, उनले भने,‘ त्यसको दुरुपयोग भयो भने हामी कडा कारबाही गर्छौँ ।’





