बागलुङ, २१ चैत – अस्पतालका चिकित्सकहरु सबै आ–आफ्ना ड्युटीमा ब्यस्त थिए । कोही ओपिडीमा त कोही प्रसुती वार्डमा । कोही ल्यावमा काम गर्दै थिए त कोही विरामीको हेरचाहमा । बाहिर लडकडाउन भएपनि धौलागिरी अञ्चलभित्रका स्वास्थ्यकर्मीलाई विरामीको हेरचाह गर्न भ्याइनभ्याई नै थियो । हेल्थ डेस्कमा पनि करिव आधा घण्टाको फरकमा एक न एक विरामी आइरहेकै थिए । बाहिर सुनिएजस्तो फुर्सदमा थिएनन् उनीहरु ।
कोरोना संक्रमणको त्रासमा आउने विरामीहरुको ब्यवस्थापन त गर्नैपर्यो उनीहरुले । ‘झन् यतिवेला त स्वाथ्यचौकी र स्वास्थ्य केन्द्रबाट रिफर भएर आउने विरामीहरुको संख्या पनि ह्वात्तै बढेको छ’, अस्पतालका मेसु डा. शैलेन्द्र वि पौडेल भन्दै थिए, ‘गाउँतिरबाट सामान्य विरामी पनि अस्पताल नै आउन थाले ।’ नर्सहरुले एकैस्वरमा थपे, ‘अन्य ठाँउका स्वास्थ्य केन्द्रले त विरामी हेर्नै छाडे । बुधवार मात्रै पर्वतबाट रिफर भएका एक महिलाको मालढुंगामा नै डेलिभरी भयो । राम्रोसंग हेर्दिएको भए त ती महिलाले सास्ती पाउने थिइनन् नि !’
हुन पनि हो, कोरोना भाइरस संक्रमणको त्रासमा गाउँतिरका स्वास्थ्यचौकीका प्रमुखहरुले विरामी जाँच्नै छाडेका छन् । उनीहरुलाई रुघा, खोकी लागेका विरामी हेर्नै डर लाग्न थालेको छ । धम्जा सामुदायिक स्वास्थ्य इकाईका प्रमुख सिनिएर अहेव लोकवहादुर भण्डारी भन्छन, ‘हामीसंग पिपिई नै छैन, अनि कसरी विरामीको चेकजाँच गर्नु त ? टाढैबाट हेर्छौ अनि उनीहरुको सिन्ड्म हेरेर औषधी दिन्छौ । साबुन पानीले हात धुन लगाएर नछोई औषधी दिन्छौ । हामीलाई गाउँपालिकाको निर्देशन नै यस्तै छ अहिले ।’ सदरमुकाममा पिपिई सेट आइपुगे पनि गाउँतिर भने अझै पुग्न सकेको छैन । दाताहरुले पनि सदरमुकाममा मात्रै दिने गरेका छन् ।
यो वेला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आफुले मात्रै लकडाउन पालन गरेर पुग्दैन, उनीहरुमा नागरिकप्रतिको दायित्व र जिम्मेवारी पनि छ । यही जिम्मेवारीलाई पुरा गरिरहेका छन् धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीले । ‘हामीलाई कोरोना त्रास भनेर उम्किने छुट नै छैन’, मेसु डा. पोखरेलले भने, ‘हाम्रा सवै स्वास्थ्यकर्मीले ज्यानको बाजी लगाएर विरामीको सेवा गरिरहेका छन् ।’ ‘ज्यानको माया त सवैलाई हुन्छ नै ’ अस्पतालका सुपरभाइजर देवप्रकाश घिमिरे भन्छन्, ‘तर हामी त दिनरात विरामीको सेवामा खटिरहेका छौ ।’
अहिले अञ्चल अस्पतालको आइसोलेसन वार्डमा एकजना कोरोना भाइरस संक्रमित विरामी छिन् । उनको राम्रोसंग उपचार गर्ने दायित्व पनि यहींका चिकित्सकमा आएको छ । बेल्जियमबाट कतारहुँदै आएकी १९ बर्षिया युवतीलाई राम्रो उपचार गरी कसरी घर फर्काउन सकिन्छ भन्नेमा नै ध्यान छन् सवैको । यी नानीको उपचार सफल भए त यहाँको पब्लिक रिक्स नै कम हुने भएकाले हामी सवैको पर्यत्न यसैमा छ, डा. पोखरेल भन्छन्, यसमा सवैको साथ चाहिएको छ ।’
कोरोना संक्रमणबाट बँच्ने सवैभन्दा राम्रो उपाय भनेकै ‘सोसियल डिस्टेन्स मेन्टन’ गर्नु हो । यसका लागि लकडाउनको आत्मअनुशासनलाई सवैले मान्नु पर्दछ । बजारमा विस्तारै यसको उल्लंघन हुँदैछ । यसलाई कार्यान्वयन गराउने दायित्व सुरक्षाकर्मीको हो । ‘विस्तारै विस्तारै सुरक्षाकर्मीकै अगाडि बाईक, ट्याक्सी र मान्छेहरु हिड्न थालिसके, अधिकारकर्मी राम शर्मा भन्छन्, ‘यसो गर्न त दिनु भएन नि !’ यस्तो भयोभने स्वास्थ्यकर्मीको हौसला पनि घट्दै जान्छ ।
लकडाउन घोषणापछि अञ्चल अस्पतालमा पुग्न अगुवाहरु समेत डराउने गरेका छन् । ‘यो जटिल अवस्थामा अस्पतालको वारेमा बुझ्न समेत कोही आएका छैनन्, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले भने, ‘चिकित्सक र स्वास्थ्यकर्मीलाई हौसला दिन पनि अगुवा भन्नेहरु त आउनुपर्ने हो, कोही आएका छैनन् ।’ जिल्ला कमाण्ड पोष्टका सदस्यहरु पनि विरलै आएका छन् । संक्रमित युवतीलाई अस्पताल राख्न दवाव दिनेहरु पनि त्यस यता देखिएका छैनन् ।
तर, बिहिवार दिउँसो प्रदेशसभाका सांसद इन्द्रलाल सापकोटा अचानक धौलागिरी अञ्चल अस्पताल पुगे, घण्टा बढि त्यहाँका चिकित्सक र स्वाथ्यकर्मीका गुनासा र सुझाव सुने । युवतीको स्वास्थ्यको वारेमा जानकारी लिए, अस्पतालका समस्या मागे । लकडाउनपछि पहिलो पटक आएका आफ्नै जनप्रतिनिधिसंग उनीहरुले पनि मन फुकाएर आफ्ना कुरा राखे । गम्भीर विरामीको उपचारका लागि आइसियुको ब्यवस्था, दक्ष जनशक्ति र इक्युपमेन्ट आवश्यक भएको बताए । सन्त्रासको बेला स्वास्थ्यकर्मीलाई भौतिक सहयोग होइन, हौसला चाहिने सुनाए ।
प्रदेशसभा सांसद सापकोटाले सवैलाई ढाड्स दिए । उच्च मनोवलका साथ विरामीको सेवा गर्न अनुरोध गरे । चिकित्सकले राखेका गुनासा र सुझावलाई आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता जनाए । ‘तपाईहरु ढुक्क भएर काम गर्नुस्, हाम्रोतर्फबाट सवै सहयोग हुनेछ ।’ सापकोटाले भने, ‘यो युद्ध हो, एक्लैले जितिदैन, सवैको उत्तिकै भूमिका हुन्छ । सवैले आ-आफ्नो जिम्मेवारी पुरा गर्नु पर्दछ । म हजुरहरुकै साथमा छु ।’
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबि रानामगरले धौलागिरी अञ्चल अस्पताल कोरोना उपचारका लागि प्रदेशको डेलिकेटेड अस्पताल भएकाले सरकारको ठूलो सहयोग आवश्यक रहेको बताए । ब्यवस्थापन समिति सदस्य शालिकराम शर्माले स्वास्थ्यकर्मीको कामप्रतिको लगावको प्रशंसा गर्दै जनप्रतिनिधीको साथ चाहिएको छ, भने ।





