बागलुङ, २२ चैत – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई रोक्न सरकारले देशब्यापी रुपमा घोषणा गरेको लकडाउनले मुलुक एककिसिमको घेराबन्दीमा छ । लकडाउनले सवैक्षेत्र ठप्प भएपछि दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न र श्रमिकको हातमुख जोर्न समस्या थपिदैछ । उनीहरुलाई विशेष राहत दिनेभन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले राहतको कार्यक्रम पनि घोषणा गरेका छन् । घोषणा गरिएको राहत वितरण गर्न कतै कार्यविधि नबनेको र कतै तथ्यांक संकलनमा दुविधा रहेको भन्दै स्थानीय तह अलमलमा छन् ।
तर बागलुङको दक्षिणपश्चिममा रहेको बरेङ गाउँपालिकाले भने कार्यविधि बनाएरै तथ्यांक संकलन गरी राहत वितरणको काम सक्नै थालेको छ । शनिवार लकडाउनको १२ औँ दिनसम्म पुग्दा उसले खाद्य आवश्यकताको आधारमा श्रमिकवर्ग र असहायलाई वितरण गर्ने राहतको काम झण्डैै ८० प्रतिशत सकेको जनाएको छ । प्रारम्भिक चरणको राहत कार्यक्रममा गाउँपालिकाभित्रका १ सय ८० घरपरिवारलाई समेटिएको छ । सवै वडा कार्यालयमार्फत आएका नामवलीमा सिमान्तकृत गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडकमा जीवन ब्यतित गर्ने परिवारमध्ये खाद्य अभावमा जोखिममा रहेका परिवार पहिलो चरणको राहत वितरणका लागि छनौटमा परेका छन् ।
उनीहरुलाई प्रारम्भिक चरणको राहत प्याकेज प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । पालिकाले दुई थरीको राहत प्याकेज बनाएको छ । चार जना सदस्य रहेको परिवारलाई आधार मानेर बनाइएको राहत प्याकेजमा चामल ३० केजी, दाल ३ केजी, खानेतेल साढे १ लिटर, नुन १ प्याकेट, सावुन ३ वटा, अन्य आवश्यक सामग्री (ब्रस, टुथपेस्ट आदि) एक सेट समावेश छ । ‘प्रतिप्याकेज रु. २ हजार ५ सय बराबरको छ, प्रमुख प्रशासकीय अधिकृत थापाले ढोरपाटनसंग भने, चार जनाभन्दा बढि सदस्य भएको परिवारलाई प्रतिब्यक्ति रु. २ सय ५० ले थप गरिन्छ भने कम भएकालाई प्याकेजको आधा दिनेगरी कार्यविधि बनाइएको छ ।’ खाद्यान्न जोखिममा रहेकालाई यो तत्कालिन राहत हो ।
सुरुमा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीय रेडियोमार्फत पालिकाले वितरण गर्ने राहत कार्यक्रमका वारेमा सर्वसाधारणलाई जानकारी दिन ‘रेडियो सम्बोधन’ गरे । अध्यक्षको रेडियो सम्बोधनका आधारमा प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले कार्यविधि तयार गरे । त्यसलाई अध्यक्ष स्तरीय निर्णयबाट पारित गरियो । त्यहीँ कार्यविधिका आधारमा राहत वितरणको काम सुरु गरिएको अध्यक्ष शर्माले ढोरपाटनलाई बताए । पालिकावासी कोही पनि खाना नपाएर भोकै बस्न नपरोस् भनेर राहत प्याकेज बनाइएको हो । ‘कोरोना कहरमा हाम्रो गाउँपालिकामा कसैलाई पनि भोकै बस्न पर्दैन, अध्यक्ष शर्माले भने, प्रारम्भिक राहतको करीव ८० प्रतिशत विरतरणको काम सकेका छौ ।’ बिहान–बेलुका चुलो नवल्ने समस्यामा रहेका सवैले राहत पाएका छन् ।
भौगोलिक र जनसंख्याका आधारमा सानो गाउँपालिका भएपनि कोरोना संक्रमणमा यसले गरेका काम रचनात्मक छन् । पालिकाले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण, रोकथाम र उपचारमा सहयोग पुराउन दैनिक रुपमा स्थानीय रेडियोमा ‘कोभिड १९ विशेष’ कार्यक्रम सञ्चालन गरेको छ । यो कार्यक्रममा कोरोनासंग समबन्धित विषयवस्तु र दैनिक गतिविधिलाई समावेश गरिन्छ । जिल्लाका सवै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाएन खाली भएको वेला बरेङका दुई स्थानमा बनाएका क्वारेन्टाएन भने भरिभराउ छन् । पालिकाले बनाएको सर्वोदय मा.वि. बरेङ–२ र जनता प्रा.वि. बरेङ–३ का क्वारेन्टाएनमा ४÷ ४ जना छन् । उनीहरु सवै परदेशबाट आएका हुन् । हालसम्म पालिकाभित्र कोरोना संक्रमणको लक्षण देखिएका कोही पनि विरामी छ्रैनन् ।
क्वारेन्टाएन वसेकाको खर्च पालिकाले नै ब्यवस्थापन गरेको छ । क्वारेन्टाएनमा रहेकालाई १४ दिनपछि प्याकेजसहित घरमा जादाँ विदाई गर्ने कार्यक्रम छ । ‘उनीहरुलाई सामाजिकीकरण गर्न विशेष प्याकेजसहित विदाई गर्दैछौ, अधिकृत थापाले भने, ‘मानिसहरुको वुझाईमा समस्या छ । घरमा गएर पनि केही साता होम क्वारेन्टाएनमा वस्नुपर्ने भएकोले प्याकेजको व्यवस्था गरिएको हो ।’ यो समयमा गाउँ भित्रिनेहरुको तथ्यांक अपडेट गर्न पालिकाले लिंक नै निर्माण गरेको छ । www.barengmun.gov.np/covid19 मा कोरोनासंग समबन्धित सवै अपडेट हुन्छ । सकेसम्म राम्रो र सहज तरिकाले कार्यसम्पादन गर्न खोजिएको छ, थापा भन्छन् ।
संकटको समयमा पालिकाले गरेको काममा स्थानीय पनि खुशी छन् । वडाध्यक्षहरुसंगको समन्वय पनि राम्रो छ । राहतको लागि तथ्यांक संकलन पनि वडा समन्वय समितिबाट आएका घरपरिवार नै प्राथमिकतामा छन् । बरेङ–१ मा शनिवारसम्म ५१ जनालाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष नरसिङ पुनले भने, ‘वडा समन्वय समितिले ६२ परिवारको तथ्यांक संकलन गरेको थियो । तीमध्ये ५१ जनालाई वितरण गरिसकियो ।’ अध्यक्ष बरेङ–४ का वडा अध्यक्ष पूर्ण खनाल भन्छन्, ‘यो वेला पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको समन्वय राम्रो छ । संकटमा परेकालाई समयमा नै राहत प्रदान गर्न कोशिस गरिएको छ ।’ राहत प्याकेज वितरण गर्नका लागि ४५ घरपरिवारलाई उनको वडा समन्व समितिले सिफारिश गरेको छ ।
मजदुरी गरेर जिविकोपार्जन गर्दै आइरहेकी बरेङ–१ की हिरा खत्रीले पालिकाले दिएको प्याकेजले आफुलाई धेरै राहत मिलेको बताईन् । त्यही वडाका ६८ बर्षिय चन्द्र वहादुर मगर पनि लकडाउनमा बाहिर काम नपाएपनि गाउपालिकाले राहत दिएकोमा खुशी छन् । उनले भने, ‘हामी वुढावुढीहरुलाई त धेरे राम्रो भयो नि हजुर !’
सुरुमा राहत प्याकेजमा आयतित खानालाई मात्रै समावेश गरेर विरतण गरेको पालिकाले अब भने स्थानीय रुपमा उत्पादन गरिएका अग्र्यानिक खानालाई समावेश गर्ने भएको छ । ‘तत्कालको आवश्यकता पुरा गर्न जे सजिलैसंग उपलब्ध हुन्छ त्यही वितरण ग¥यौ, अधिकृत थापाले भने, ‘अब त स्थानीय उत्पादनलाई नै प्राथमिकता राखेर संकलन सुरु गरीसकेका छौं ।’ अहिले वडावडाबाट गहुँ, कोदो, मकै, उवाँ, घिउ, गेडागुडी संकलन भइरहेको छ । अवका प्याकेज यिनै खाद्यान्न समावेश गरेर बनाइने थापाले वताए ।
कोरोनाको सुरक्षा सामग्री खरिद गरेर वितरण गर्ने जिल्लामा यो नै पहिलो पालिका हो । यसले आफ्नै बजेटबाट ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) खरिद गरेर सवै स्वास्थ्यचौकीलाई तीन तीन वटा वितरण गरेको छ । गाउँपालिकाको बजेटबाटै स्थापना गरिएको राहत कोषमा पालिकाको रु. १० लाख र प्रदेश सरकारले पठाएको रु. ५ लाख गरी १५ लाख रुपैयाँ छ । अरु क्षेत्रबाट आउने रकम पनि कोषमा थप गर्दै जाने अध्यक्ष शर्माले बताए ।
यस्तो छ गाउँपालिकाको राहत प्याकेज कार्यविधी :






