आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

धौलागिरी अञ्चल अस्पतालले थाल्यो आईसियु निर्माणको प्रकृया

धौलागिरी अञ्चल अस्पतालले थाल्यो आईसियु निर्माणको प्रकृया

दुई सातामा पूर्वाधार बनाई सक्ने


  • Dhorpatan News
  • चैत्र २५ २०७६, मंगलबार

बागलुङ, २५ चैत– साविक धौलागिरीका चार जिल्लाका झण्डै ६ लाख नागरिकको उपचार गर्नुपर्ने जिम्मेवारी बोकेको अस्पताल हो बागलुङको धौलागिरी अञ्चल अस्पताल । अरु समयमा समेत बिरामीको चाप हुने यो अस्पतालमा कोरोनाको संक्रमणको आशंकामा चेकजाँचका लागि आउने बिरामीहरुको चाप बढ्दो छ । बागलुङ जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पताल भएका कारण कोरोना संक्रमितहरुलाई उपचार गर्ने अस्पताल पनि यही हो ।
संक्रमण भित्रिनु पहिलेनै तयारी अवस्थामा राखिएका अस्पतालका ४ आइसोलेसन वाडमध्ये दुई बेड विरामीले भरीइसकेका छन् । बागलुङमै दुई जनामा संक्रमण रहेको पुष्टी भएपछि उनीहरुको अहिले तिनै आईसोलेसन वाडमा राखेर उपचार भैरहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलका अनुसार कोरोना जस्तो महामारीले छोएका बिरामी अस्पतालमा भर्ना भैसक्दा समेत सघन उपचार कक्ष (आईसियु) थिएन् । त्यसैको अभाव खेप्दै आएका यहाँका चिकित्सकहरुलाई अव भने केही राहत मिल्ने भएको छ । अञ्चल अस्पतालले सघन उपचार कक्ष निर्माणको प्रकृया अघि बढाएको छ ।
आईसियू कक्ष निर्माणको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणका काम गर्न र आवश्यक सामग्री खरिदको लागि अस्पतालले मंगलबार बोलपत्र आव्हान गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले साता दिनको समय राखेर मंगलवार ढोरपाटन दैनिक पत्रिकामा बोलपत्र आब्हान गरेको बताए । ‘हामी संरचना बनाउछौं, त्यसका लागि प्रकृयाको थालनी भइसकेकोे छ’ अध्यक्ष रानाले भने, ‘जतीसक्दो छिटो काम गर्ने भनेका छौं ।’
नेपाल सरकारले धौलागिरी अञ्चल अस्पताललाई डेडिकेटेड अस्पताल बनाउने भन्दै एक करोड बजेट बिनियोजन गरेको छ । सरकारले पठाएको सोही रकम खर्च गरेर पूर्वाधार निर्माणको काम थालिएको राना बताउँछन् । सघन उपचार कक्ष निर्माण पश्चात स्वास प्रस्वास, मुटु, मृगौला लगायतका समस्या भएका बिरामीको उपचारमा समेत सहयोग पुग्ने छ । अहिले स्वास प्रस्वासको समस्या भएका बिरामीको लागि मात्रै भेण्टिलेटरको व्यवस्था अस्पतालमा छ ।
कोरोना संक्रमण भएका बिरामीमा आउन सक्ने सम्भावित लक्षण र आगामी दिनमा समेत अस्पतालमा आउने बिरामीको हितका लागि तत्कालै आईसियु निर्माणको प्रक्रिया थालेको अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । ‘अव पूर्वाधारको पाटोका सबै काम हुन्छ ।’ शर्माले भने, ‘आवश्यक जनशक्ति पठाउने काम सरकारको हो । आशा गरौं हामीले काम सक्दा जनशक्तिको पनि व्यवस्था हुनेछ ।’
धौलागिरी अञ्चल अस्पताल कोरोना संक्रमणका विरामी उपचार गर्ने मुलुककै तेस्रो अस्पताल हो । पहिलो काठमाडौं टेकु, दोस्रो धनगढी र तेस्रो यो अस्पताल हो । ‘हामिले दुई हप्ता देखि २० दिन सम्ममा आईसियू बनाउँछौं’ अस्पतालका नि. प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले भने ‘जतिसक्दो छिटोबनाउने प्रयत्न भैरहेको छ, प्रकृयात मिच्न भएन् ।’ उनले अत्यावश्यक सेवा भएकाले सबै सरोकारवालाको सहयोगमा काम छिटो सकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->