आइसोलेसनमा दुई जना संक्रमित विरामी उपचार गराईरहेको धौलागिरी अञ्चल अस्पताल ।
बागलुङ, ३ बैशाख – ‘बिहान उठेर रुममा राखिदिएको खाजा चियासँग खाएँ’, मंगलबार बिहान ढोरपाटनले टेलिफोन कुरा गर्दा बानपा–४ की कोरोना संक्रमित १९ बर्षिया युवती चिया पिउँदै थिइन् । म सन्चै छु, बरु हजुरहरुलाई कस्तो छ ? उनले उल्टै हाम्रो खबर सोधिन् । बागलुङमा बाहिरको अवस्था सामान्य भएको जानकारी दिदै हामीले फेरी सोध्यौँ, डाक्टर र नर्सहरुले के भन्छन् ? उनले सहज उत्तर दिइन्, ‘रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउछु रे !’
गत चैत १५ गते कोरोना संक्रमणको पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी नेपालकै पाँचौ संक्रमित युवती हुन् ।
आइसोलेसनमा रहेकी उनको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिनको काम चल्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरमा रहेको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया र तातोपानीका लागि वार्डमा बिद्युतीय भाडाको (वर्तन) व्यवस्था अस्पतालले गरिदिएको छ ।
चैत २० गते कोरोना संक्रमणको पुष्टि भएकी बानपा–३ गौडाकोटकी ६५ बर्षिया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ । उनले पनि एउटै जवाफ दिइन्, ‘रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउछु कि !’ दुवैको अवस्था सामान्य छ । ‘केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु’ उनले भनिन् ‘ठिकै छ, आत्तिएकी छैन ।’ उनी नेपालकै छैठो संक्रमित महिला हुन् । युवतीको तेस्रो र महिलाको दोस्रो पटक लिएर कोरोना परीक्षण गरेको नतिजाबारे अस्पतालले उनीहरुलाई जानकारी गराएको छैन ।
झण्डै दुईसाता पुग्न लागेको आईसोलेसन बसाईबारे जिज्ञासा राख्दा युवतीले भनिन् ‘पछिल्लो पटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौं के हुन्छ ।’ स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको उनीहरु दुवैको परीक्षण रिपोर्ट भने पोजेटिभ नै आएको अस्पताल बताउँछ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शैलेन्द्र वि. पोखरेल भन्छन्, ‘प्रक्रियागत हिसाबले नै उनीहरुलाई अस्पतालले नतिजाको बिषयमा जानकारी गराउछ ।’ चिकित्सकका अनुसार अव स्वाब लिने बेलामा मात्रै उनीहरुलाई पहिलो रिपोर्टको नतिजा जानकारी गराइने छ ।
संक्रमित दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरु आँफैमा पनि दह्रो आत्मबलका साथ आईसोलेसनमा बसेको अस्पतालका डा.पोखरेलले बताए । ‘हामीले दिएको खानुभएको छ, समस्या केही छैन’ उनले ढोरपाटनसँग भन,े ‘आमाको बेला बेलामा प्रेसर बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित सिमटम केही पनि छैन ।’
खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन । एक्लोपनको महशुस हुन नदिन उनीहरुलाई मोबाईल फोन प्रयोग गर्न पाउने व्यवस्था छ । चिकित्सकहरुले बेला बेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको बिषयमा जानकारी लिने गरेको पोखरेलले बताए । ‘समयमा खाना र सोधपुछ हुन्छ, अरु बेला पनि केही खान मन लाग्ला भनेर विस्कुट उहाँहरु भएकै ठाउँमा व्यवस्था गरिएको छ’ डा. पोखरेल भन्छन् ।
उनीहरुले खानामा आवश्यकता अनुसार शाकाहारी र मासु अण्डाको परिकार समेत खाने गरेका छन् । आईसोलेसनमा रहेका दुवै जनाको हेरचाह र औषधी उपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० जना नर्स र चिकित्सक खटाउने गरेको छ । सबै चिकित्सकहरु बिरामीको नजिक पुग्दा उनीहरुमा सन्तुष्टी हुने गरेको अनुभुती चिकित्सकहरु बताउँछन् ।
‘उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन्’ स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्छन, ‘बागलुङमा आत्तिनु पर्ने अवस्था छैन्, ढुक्क हुन भने मिल्दैन ।’ ¥यापिड टेष्टको क्रममा काठेखोलामा आशंका गरिएकी महिलाको थ्रेट स्वाबको नतिजा नेगेटिभ आएपछि आत्तिईहाल्नुपर्ने अवस्था टरेको गुरौले बताए ।




