पोखरा, ५ बैशाख– पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा शुक्रबार लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंया सहयोग गरेको छ । यस्तै, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार ५ सय सहयोग गरेको छ । संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीसहितको टोलीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेका हुन् ।
यसैगरी कोषमा पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुलप्रसाद घिमिरेले २० हजार र जिसी इलेक्ट्रिकका प्रेमबहादुर जिसीले २५ हजार ५ सय ५ सहयोग गरेका छन् । नेपाल निर्माण व्यवसायी संघ कास्कीले एक लाख, कृषि बजार व्यवस्थापन समिति पोखराले ५५ हजार, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ कास्कीले ५१ हजार सहयोग गरेका छन् । यस्तै, कास्कीमा रहेका चार्टड एकान्टेन्टहरुको पहलमा नेपाल चार्टड एकाउन्टेन्ट संघले ६० थान बुट र सय थान सर्जिकल ग्लोप्स महानगरलाई दिएको छ । संघका केन्द्रीय सदस्य अनिल लामिछाने र चार्टड एकाउन्टेन्ट विवेक श्रेष्ठले महानगर प्रमुख जिसीलाई उक्त सामग्री हस्तान्रतण गरेका हुन् ।
यसैगरी, बुद्ध बचत तथा ऋण सहकारी संस्था २५ हजार, सञ्चार बचत तथा ऋण सहकारी संस्था २० हजार, सिर्जना महिला बचत तथा ऋण सहकारी १० हजार, फलौरा बहुउद्देश्यीय सहकारी १० हजार र पोखरा ४ का शुरेशचन्द्र कोइरालाले १० हजार सहयोग गरेका छन् । महानगरको कोषमा शुक्रबारसम्म ३ करोड ८२ लाख १८ हजार ५ सय १ रुपैंया जम्मा भएको छ ।





