बागलुङ, ५ बैशाख-धौलागिरी अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष (आईसियु)का सामाग्री जडानको काम अन्तिम चरणमा पुगेको छ । आईसीयू निर्माणका लागि आवश्यक सामग्री उपलव्ध गराउन तयार भएका कम्पनीहरुले बिहिबारनै सबै सामग्री उपलव्ध गराएकाले जडानको काम थालिएको थियो । बोलपत्र आव्हानमा छनौट भएका कम्पनीहरुले पोखरा र काठमाण्डौबाट बुधबार साँझ र बिहिबार बिहान आवश्यक सामग्री अस्पतालमा पु¥याएका थिए ।
पोखराको प्रतिक सर्जिकल डाईनोष्टिक होम र काठमाण्डौको सनराईज सर्जिकल होमले सामग्री उपलव्ध गराउने जिम्मेबारी पाएका थिए । सम्झौताको समयमानै उनीहरुले सामग्री लिएर आएकाले जडानको काम थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.शैलेन्द्र बिक पोखरेलले बताए । ‘धेरै काम सकियो शनिवार साँझसम्म पुरा होला’ उनले भने, ‘आईतवारबाट आईसियु चल्छ ।’
अस्पतालले आईसीयु निर्माणका लागि १ थान भेण्टीलेटर, ३ वटा बेड, १ थान अल्ट्रासाउण्ड, १ थान इसिजी, ८ थान सिरिञ्जपम्प, १ थान इनफ्युज पम्प र अन्य केही समाग्रीका ल्याएको छ । अस्पतालमा तीन बेडको आईसियु बन्न लागेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले वताए ।




