शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संरक्षण गर्ने वडाध्यक्षले नै कुटे मजदुरलाई

संरक्षण गर्ने वडाध्यक्षले नै कुटे मजदुरलाई

प्रहरी भन्छ स्वास्थ्यचौकीमा जाँचेर आउनुस भनेर लेखि पठाएका छौं


  • ढोरपाटन संवाददाता
  • बैशाख ८ २०७७, सोमबार

बागलुङ, ८ बैशाख– जिल्लाको गल्कोट नगरपालिका–५ का वडाअध्यक्ष नारायणध्वज मल्लले सोमबार दिउँसो मजदुर माथी हातपात गरेका छन् । सामान्य बिषयमा बिबादहुँदा गल्कोटमै निर्माण क्षेत्रमा कामगर्ने मजदुर अजय कुमार शाहमाथी अध्यक्ष मल्लले हातपात गरेका हुन् । शाह प्राथामिक स्वास्थ्य केन्द्र हरिचौरको भवन निर्माणकालागि दुई महिनादेखि गल्कोटमै बस्दै आएका थिए ।
लकडाउनको समयमा वडाबाहिर आवतजावत गरेको भन्दै वडाअध्यक्षले आँफुमाथी लाठिचार्ज गरेको पीडित यादवले बताए । वडाअध्यक्षकै निगरानीमा स्वास्थ्य केन्द्रको भवन निर्माणको काम गरिरहेका शाह सहितका आठजना मजदुरहरुलाई वडा नछोड्न र सुरक्षित रहेर कामगर्न भनिएको थियो । सोमबार शाह मात्रै वडा नं. ६ को भवन निर्माणको जिम्मेबारी पाएको ठेकेदार कम्पनीसँग ज्यालाको कामको सम्झौताकालागि वडा बाहिर निस्केका थिए ।
‘उहाँले हामीलाई यहीँमात्रै कामगर्नु, अन्तनजानु भन्नुभएको थियो, खालि समयमा ज्यालामा काम गरौंला भनेर उता वडा नं. ६ को कामगर्न कागज गर्न गएको थिएँ’ शाहले भने, ‘त्यही निहुँ पारेर लाठीले मेरो खुट्टामा नराम्रोसँग हान्नुभयो र हरीचौर चाँडै छोड्न दवाव दिनुुभयो ।’ आँफुले अन्तै कामगर्न जानलागेको भन्दै वडाअध्यक्षले बासस्थानमै आएर आक्रमण गरेको उनले बताए । खुट्टामा लागेको चोटका कारण हिँडडुल गर्न कठिन भएको शाहले बताए ।
उनीहरुको बिचमा बिबाद चुलिएर हातपात हुनथालेपछि स्थानीयले तितर बितर पारेका थिए । ‘दाईले हान्नत के गर्नुभयो कुन्नी सबै जम्मा भएका थिए’ गल्कोट नगर कार्यपालिका सदस्य कमला ढकालले भनिन्, ‘उनीहरुका ठेकदार आएर दाईसँग बिबाद गर्दै थिए, हामीले दाईलाई गाडी चढाएर पठायौं, उनले हाने भन्दैछन् ।’ शाहले इलाका प्रहरी कार्यालय हरीचौरमा निवेदन दिएका छन् । ‘उहाँको निवेदन आएको छ, चोट लागेको भए स्वास्थ्यचौकीमा जाँचेर आउनुस भनेर लेखि पठाएका छौं’ प्रहरी निरीक्षक केशव सिंह थापाले भने, ‘के भएको हो स्वास्थ्य जाँचको रिपोट आएपछि मात्रै थाहा हुन्छ, उहाँका न्यायका बाटाहरु त छँदैछन् नी ।’
कुटपिट गरेको भन्दै निवेदनदर्ता भएको बिषयमा प्रहरी निरीक्षक थापा खुलेर बोल्न चाहेनन् । घटनाको बिषयमा जानकारी लिनको लागि ढोरपाटनले सम्पर्क गर्न खोज्दा वडाअध्यक्षको फोन भने अफ थियो । नगरपालिकाले उपलव्ध गराएको र उनले व्यक्तिगत रुपमा प्रयोग गर्दै आएको दुवै फोन अफ थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->