पोखरा, ९ बैशाख – नयाँ बाटो, कता पुगिन्छ, थाहा छैन ! मनभरि आफ्नै गाउँ रुकुमको चौरघारी बोकेर उनी निरन्तर हिँडिरहे । दिन–रात भनेनन् । र, छोटो बाटो रोज्दै उनीहरु पोखरा आइपुगे ।
‘पानी पर्दामात्रै ओत लागेर बस्यौँ, नत्र रातभर हिँड्यौँ’, गोर्खाको खिनामबाट हिँडेरै पोखरा आएका १८ वर्षीय पहल केसीले भने, ‘पोखरा आउन ठ्याक्कै द्ुइदिन लाग्यो, हिँड्न पाए ६ दिनमा घर पुग्थ्यौँ ।’
कामको खोजीमा गोर्खा पुगेका हुन्,उनीहरु । मुग्लिङको बाटो हुँदै गोर्खा पुगेका उनीहरुसँग कमाउने सपना थियो । त्यो सपनाकै कारण उनीहरुले ढुंगामाटोमा पसिना बगाएको पनि बिर्से । समय ठीकै थियो । साथीभाई छँदै थिए । तर, लकडाउन सुरु भएपछि उनीहरुको दशा बिग्रियो । काम रोकियो । उनीहरु बेरोजगार भए । कमाउँला भन्ने सपना त उड्यो नै, भोकभोकै पर्ने अवस्था आयो । राहतको एउटा पोकोले कति पुग्थ्यो ? त्यो पनि सकियो । काम पनि छैन, माम पनि छैनको अवस्थामा के बसिरहनु ? उनीहरुले बाटो तताए ।

बेखर्ची उनीहरुलाई प्रशासनले अघि बढ्न दिने कुरै भएन । उनीहरु थचारिए । पोखरा आइपुगेका उनीहरुलाई पोखरा महानगरपालिका वडा ९ का स्थानीयहरुले नवप्रभात विद्यालयमा राखे, खाना खुवाए ।
चिउरा चाउचाउको भरमा हिडेको उनले बताए । ‘गाउँमा मानिसहरुले ओथारो दिन पनि खोजेनन् खानाको अभाव भएपछि घर फर्किन मन लाग्यो’,अर्का युवा पवन केसीले भने, ‘लकडाउन एक हप्ताको लागि हुन्छ भनेर काम सकेर जाने सोच्दा अलपत्र परियो ।’
समूहमा रहेका किरण केसीले भोकै पर्ने अवस्थाका कारण पैदल हिँडेको बताउँदै पैदल हिँड्नेलाई नरोक्न आग्रह गरे । ९ जना थिए, समूहमा । हिँड्दै पोखरा आएपछि रोकिएका उनीहरुसँग खानेकुरा थिएन । स्थानीय वडाले एकचरण राहत दिए पनि दोस्रो चरणमा राहत दिन मानेन । हिँड्नुको विकल्प रहेन । उनीहरु हिँडे ।
‘तनहँुमा एउटा दाईले काँक्रो र बिस्कुट दिनुभयो र २० किलोमिटर जति आफ्नै गाडीमा राखेर छाडिदिनुभयो । पानी पर्दा बाटोमा रोकियौँ नत्र निरन्तर हिडेर पोखरा आइपुगेका हौैँ’, पहलले भने । सवारी व्यवस्था मिलाइदिने आशा देखाएपछि पोखरा रोकिएको बताउँदै जान दिए आफू हिँड्न तयार भएको सुनाए । ‘पहिलो पटक यो बाटो हिडेका छौँ’, मुग्लिनतिरबाट बसमा हिड्थ्यौँ, पोखराहुँदै जाँदा छोटो पर्छ त्यसैले पोखरा हुदैँ आएका हौँ’, उनले भने, ‘सवारी पास छैन भन्ने किसिमको भनाइ मात्र पायौँ, पास नदिएपनि हिडेर जान दिए जान्छौँ ।’
पोखरा–बागलुङहुँदै रुकुम पुग्ने योजनासहित उनीहरु पोखरा आइपुगे । तर, हिँडाई नै सही, उनीहरुको बेग रोकियो । पोखराबाट बागलुङ जाने गाडीको पास मिल्छ भन्ने सुनेका उनीहरुले पास पनि पाएनन् । बेखर्ची उनीहरुलाई प्रशासनले अघि बढ्न दिने कुरै भएन । उनीहरु थचारिए । पोखरा आइपुगेका उनीहरुलाई पोखरा महानगरपालिका वडा ९ का स्थानीयहरुले नवप्रभात विद्यालयमा राखे, खाना खुवाए । स्थानीय तथा नव प्रभात विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र मर्सानीका अनुसार गन्तव्यमा जान हिँडेकाहरुको समस्यामा परेकाले बस्न र खानाको व्यवस्था गरेको बताए । ‘हामीले अर्को व्यवस्था नभएसम्म उहाँहरुलाई यहीँ राख्छौँ’, उनले भने, ‘राज्यले सोच्न नसकेको ठाउँमा सहयोग गर्नु हाम्रो दायित्व हो ।’




