पोखरा, १५ बैशाख– लकडाउनका कारण प्रसुती सेवा लिन समस्या नहोस् भनेर पोखरा महानगरले निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको सोमबार बसेको बैठकले प्रसुती सेवाका लागि अस्पताल जानुपर्ने गर्भबती महिलालाई निशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गर्ने निर्णय गरेको हो ।
कुनैपनि महिलाले प्रसुती सेवा समयमै नपाएर समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको समिति संयोजक समेत रहेकी उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । ‘लकडाउनका कारण सवारी साधनको अभावमा प्रसुती सेवाका लागि अस्पताल जान समस्या हुने र ज्यानै जानसक्ने अवस्था आउने भएकाले महिलाहरुको समस्यालाई ध्यानमा राखेर यो निर्णय गरेका हौं’ उनले भनिन् ।
महानगरले प्रसुती सेवा लिन अस्पताल जानुपर्ने अवस्थाका महिलाका लागि चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताए । ‘एम्बुलेन्सका लागि पोखरा महागनरपालिका भलाम, पामे, बेगनास र लामाचौरमा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं” शर्माले भने– एम्बुलेन्स सेवाका लागि ९८४६०२४४४६, ९८४२००५१००, ९८०६५२९४६४ र ९८५६०२६५७४ मा सम्पर्क गर्न सकिने छ ।’





