म्याग्दी, २२ बैशाख –हात हतियार तथा खरखजना मुद्दामा फरार रहेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि उनी फरार थिए । अनुसन्धानमा सहयोग र कानुनी रुपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफै आइतबार प्रहरीकहाँ आएका डिएसपी किरनजंग कुँवरले बताए ।
उनका अनुसार, प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परिक्षण गर्दा बार बोरको भएको पुष्टि भएको छ । ‘उहाँ आफै अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो,’ डिएसपी कुँवरले भने ‘अनुसन्धान जारी छ ।’ चैत २९ गते बिहान ‘नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ, त्यहीँ उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमै हटाएका थिए ।
शेरपुजा वि.स २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेसका नेताहरुसहित उनी प्रहरी कार्यालयमा उपस्थित भएका थिए । स्थानीय चुनावअघि नेपाली काँग्रेसमा प्रवेश गरेका शेरपुजा काँग्रेसको रघुगंगा पालिका कार्यसमितिको सचिव हुन् । वि.स. २०७० को दोस्रो संबिधानसभा निर्वाचनमा उनी मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए ।
अबैध हात हतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजाविरुद्ध अदालतमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । फौजदारी अभियोग लागेपछि उनको पद निलम्बन हुने कानुनी व्यवस्था छ । अदालतले उनलाई दोषी ठहर र पुनरावेदनमा पनि असफल भएमा वडा अध्यक्ष पद गुम्ने छ ।





